काठमाडौं : नेपाल ब्यायाम मन्दिरका ग्रेस महर्जन र डिभाइन फिजिकल फिटनेसकी उर्मिला श्रेष्ठले प्रथम प्रज्ञा स्मृति पुरुष तथा महिला शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा शनिबार भएको प्रतियोगिताको पुरुष ओभरअलमा ग्रेस च्याम्पियन बन्दा महिला बडीबिल्डिङको उपाधि उर्मिलाले जितेकी हुन् ।
प्रतियोगितामा ग्रेस पुरुष ७५ केजीमाथिको तौल समूहमा पहिलो हुँदै ओभरअल उपाधि होडमा प्रवेश गरेका थिए । आफ्नो तौलसमूहमा पहिलो भएवापत ग्रेसले छुट्टै ५० हजार नगद पुरस्कार हात पारेका छन् । उनले ओभरलतर्फ दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुष ६० केजीमा ह्यामर फिट्नेसका सुमित गिरी, ६५ केजीमा बी एन्ड एल फिट्नेस स्टेसनका किशोर लिम्बू, ७० केजीमा बडी गराजका अभिजित राजवंशी र ७५ केजीमा ब्यायाम मन्दिरका सुरेश मुनिकार पहिलो भएका थिए । पुरुषमा पहिलो हुनेले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौंले १० हजार नगद पुरस्कार हात पारेका थिए । महिलातर्फकी विजेता उर्मिलाले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरिन् । यस्तै दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौं हुने खेलाडीले १० हजार रुपैयाँ नगद पुरस्कार पाए ।
प्रतियोगिताको विजेता खेलाडीलाई पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, आयोजक प्रतिष्ठानकी निर्देशक गंगा दाहाललगायतले पुरस्कृत गरेका थिए । यसअघि चितवनको भरतपुरमा साइक्लिङ प्रतियोगिता आयोजना गर्दै आएको प्रतिष्ठानले पहिलो पटक शारीरिक सुगठन प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आर्थिक र नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ र काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोग गरेका छन् । प्रतिष्ठानले प्रकाश दाहाल र ज्ञानु दाहालको स्मृतिमा शिक्षा, स्वास्थ्य, खेलकुद र सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।