काठमाडौँ : गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीको आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको अनुसन्धान सकिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले गरेको उक्त अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो। आरोपीहरूविरुद्ध प्रहरीले राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, ज्यान सम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरेर प्रतिवेदन बुझाएको छ।
जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले अनुसन्धान गरेर प्रतिवेदन दर्ता भएको बताए। उनी भन्छन्,’प्रहरीले बुझाएको रायसहितको प्रतिवेदनमा जिल्ला सरकारी वकिल कार्यालयले फाइल अध्ययन गरिरहेको छ।’ आइतबार साँझसम्म प्रतिवेदन अध्ययन गरी मुद्दा दर्ता गरिने उनले जानकारी दिए।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बाेहोराका अनुसार, तीनकुने घटनाको अनुसन्धान प्रतिवेदनमा प्रहरीले १०८ जनालाई अनुसन्धान गरेको थियो। जसमा ९० जना पक्राउ परेका छन्। ७४ जनाविरुद्ध मुद्दा चलाउने राय दिइएको छ। हाल ५३ जना प्रहरी हिरासतमा छन्।