काठमाडौं : प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना र नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ तथा काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा प्रथम राष्ट्रब्यापी प्रज्ञा स्मृति पुरुष तथा महिला शारीरिक सुगठन प्रतियोगिता आगामी जेठ २४ गते शनिबार हुने भएको छ ।
प्रतियोगितामा पुरुष शारीरिक सुगठनतर्फ ६० केजी तौल समूहदेखि ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीमाथिको गरी पाँच तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता सहसंयोजक रवीन्द्र श्रेष्ठले जानकारी दिए । महिलाहरुको प्रतियोगिता भने खुला रहने उनले बताए ।
प्रतियोगितामा पुरुष शारीरिक सुगठनतर्फ पहिलो हुनेले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौं हुने खेलाडीले १० हजार नगद पुरस्कार पाउने छ । यस्तै महिलातर्फको विजेताले एक लाख, दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २० र पाँचौं हुने खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको ओभरतर्फका विजेताले भने दुई लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
एक दिने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद विकास परिषद् र फिटनेस च्वाइसले सहयोग गर्ने छन् । प्रतियोगिताको ट्राभल पार्टनरमा होलीडे ट्रिप नेपाल र मेडिकल पार्टनरमा ब्लुक्रस अस्पताल रहेको छ ।
यसअघि चितवनको भरतपुरमा साइक्लिङ म्याराथन गर्दै आएको प्रतिष्ठानले अबदेखि शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्न लागेको हो ।