काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएको बताएका छन्। शनिबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’मा एक पोस्ट गर्दै अमेरिकाको मध्यस्थतामा लामो समयको वार्ता पछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएको बताएका हुन्।
उनले भने,‘संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा लामो समयको वार्ता पछि, म यो घोषणा गर्न पाउँदा खुसी छु कि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन्।’
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत र पाकिस्तानले व्यापक मुद्दाहरूमा वार्ता सुरु गर्न सहमत भएको बताए। उनले भने,‘भारत र पाकिस्तानले तत्काल युद्धविराम गर्न र तटस्थ स्थानमा व्यापक मुद्दाहरूमा छलफल गर्न सहमत भएका छन्।’
पाकिस्तानका उपप्रधानमन्त्रीले के भने ?
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले पनि सामाजिक सञ्जालमा पोस्ट गर्दै पाकिस्तान र भारत पूर्ण र तत्काल युद्धविराममा सहमत भएको बताए।
इशाक दारले भने,‘पाकिस्तान र भारतले तत्काल लागू हुने गरी युद्धविराममा सहमति जनाएका छन्। पाकिस्तानले सधैं आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी यस क्षेत्रमा शान्ति र सुरक्षा चाहेको छ।’