इलाम : लोपोन्मुख हाब्रे (रेड पाण्डा) बारे जानकारी गराउने महत्वपूर्ण पुस्तक ‘नेपालमा हाब्रे’ विमोचन गरिएको छ । गिरिराज बाँस्कोटाले सम्पादन गरेको उक्त पुस्तक शनिबार इलाममा विमोचन गरिएको हो ।
इलामका जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, कोशी प्रदेशको वन मन्त्रालयका सचिव विशाल घिमिरे, रेड पाण्डा नेटर्वकका नेपाल निर्देशक आङफुरी शेर्पा, वन तथा भूमि विभागका उपनिर्देशक धनञ्जय रेग्मीसहितले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए । पुस्तक रेड पाण्डा नेटवर्क र दीपज्योति युवा क्लबले प्रकाशन गरेको हो ।
पुस्तकमा हाब्रेको नेपालको अवस्था, संरक्षणका चुनौती, पर्यटन तथा संरक्षणका विभिन्न सन्दर्भका १६ वटा लेख समावेश गरिएको छ । पुस्तकमा मोहन मैनाली, यादव उप्रेती, संग्राम कार्की, मुकेश पोखरेल, युवराज गौतम, गोविन्द पोखरेल, सीताराम गुरागाईं, विप्लव भट्टराई, भीम चापागाईं, आनन्द गौतम, सरोज शर्मा, एलिना दियालीलगायतको लेख रहेको छ । पुस्तक रेड पाण्डा बारे नीति निर्माण र संरक्षणका लागी महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

Previous Article