काठमाडौँ : बीबीसीले सार्वजनिक गरेको सन् २०२४ मा विश्वका एक सय प्रेरक तथा प्रभावशाली महिलाहरूको सूचीमा नेपालकी पर्यावरण उद्यमी सिलसिला आचार्य पनि छनोट भएकी छन् । मंगलबार सार्वजनिक उक्त सूचीमा छनोट भएपछि उनले प्रतिक्रियामा भनिन्, ‘मेरा लागि यो एकदमै अपत्यारिलो खबर हो ।’ विश्वका एक सय प्रभावशाली महिलामा छानिएसँगै उनले ‘फोहोरको कामले सफा नाम दिएको’ बताइन् ।
पर्यावरण क्षेत्रमा सक्रिय नेपालकी दिगो विकास उद्यमी सिलसिलाले विश्वका अन्य महिलासँगै बीबीसीको उक्त सूचीमा पर्नुलाई आफूले गरेको कामले सम्मानजनक मान्यता पाएको टिप्पणी गरिन् । भनिन्, ‘यस उपलब्धिले नेपाललाई पुनः विश्व मञ्चमा चिनाएको छ भने मैले गर्दै आएको कामले पनि सम्मान पाएको महसुस गरेकी छु ।’
उक्त सूचीमा विश्वका पर्यावरण, संस्कृति तथा शिक्षा, मनोरञ्जन एवं खेल, राजनीति र विज्ञान, स्वास्थ्य एवं प्रविधि क्षेत्रका महिला छनोटमा परेका हुन् । सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराददेखि न्युजिल्यान्डकी आदिवासी सांसद हाना–रावहिती मइपी–क्लार्कसम्म छन् । त्यस्तै भारतमा बेवारिसे शवहरूको अन्तिम संस्कार गराउन सक्रिय पूजा शर्मा, सामाजिक कार्यकर्ता अरुणा रोय र कुस्ती खेलाडी विनेश फोगाट पनि उक्त सूचीमा समेटिएका छन् ।
बीबीसीको उक्त सूचीमा छनोट हुनेबारे सिलसिलालाई एक महिनाअघि जानकारी थियो । तर नाम सार्वजनिक नभइन्जेलसम्म उनलाई विश्वास गर्न गाह्रो भइरहेको थियो । सिलसिलाले काठमाडौंको टोखास्थित अभ्नी भेन्जर्स सञ्चालन गर्दै आएकी छन् । उनी कम्पनीकी सह–संस्थापक र निर्देशक हुन् ।
सन् २०२१ मा उनले करिब डेढ करोड रुपैयाँ लगानीमा ६ रोपनी जग्गामा प्लास्टिक पुनः प्रयोग संकलन केन्द्र सुरु गरेकी हुन् । जहाँ देशभरका २६ फोहोर संकलन केन्द्रमार्फत आएका फोहोरलाई पुनः प्रशोधन गरिन्छ । जहाँ चार सय जनाले रोजगारीसमेत पाएका छन् ।
‘वर्षमा हामीले ५ हजार टन फोहोर संकलन गर्छौं, अहिलेसम्म करिब १६ हजार टन फोहोर संकलन गरिसकेका छौं,’ उनले भनिन् । यहीँ कामको मूल्यांकन गर्दै बीबीसीले उनलाई सय प्रभावशाली महिलाको सूचीमा छनोट गरेको हो ।
बागलुङमा जन्मिएकी सिलसिलाले सन् २०११ मा नर्वेको बर्गन विश्वविद्यालयबाट वातावरणमा स्नातकोत्तर गरेकी हुन् । अध्ययनकै क्रममा उनलाई वातावरणको क्षेत्रमा काम गर्ने इच्छा जागेको हो । ‘विश्वमा भइरहेको जलवायु परिवर्तनलाई कसरी कम गर्न सकिन्छ भनी काम गर्न मन थियो,’ सिलसिलाले आफ्नो यात्राको कथा सुनाउँदै भनिन्, ‘प्लास्टिकलाई पुनः प्रशोधन गरी यसमा योगदान गर्न सकिन्छ भन्ने लाग्यो र निरन्तर यसैमा काम गरें । जसको नतिजा आज सबैको अगाडि छ ।’
फोहोरलाई प्रशोधन गर्ने मात्र नभई यससँग जोडिएका सामाजिक, आर्थिक र वातावरणीय पक्षलाई जोडेर हेर्ने गरेको उनले सुनाइन् । समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने जिज्ञासु स्वभावकी सिलसिलाले थपिन्, ‘देखिएको समस्यालाई कसरी समाधान गर्ने भन्नेतर्फ लाग्ने बानी छ । यसैले गर्दा म यहाँसम्म आइपुगें । तर काम गर्ने क्रममा आउने विभिन्न बाधाले दिक्क लागे पनि यस किसिमको मान्यताले पुनः ऊर्जा थप्छ ।’ उनको सात वर्षकी एक छोरी र श्रीमान् छन् । आफूले पाएको पछिल्लो उपलब्धिले परिवारमा समेत खुसियाली छाएको उनले सुनाइन् ।
फोहोरको उचित व्यवस्थापनका लागि स्थानीय तह नै सक्रिय रूपमा लाग्नुपर्ने ठान्छिन्, सिलसिला । उनको विचारमा फोहोर आफैंमा समस्या होइन तर यसको उचित व्यवस्थापन गर्न नसक्दा समस्या निम्तिने गर्छ ।
‘अहिले फोहोरको समस्या दिनदिनै बढ्दै गइरहेको छ । यसमा काम गर्ने धेरै छैनन् । सरकारले पनि वातावरणको विषयलाई कम प्राथमिकतामा राखेको पाइन्छ,’ उनले थपिन्, ‘फोहोर संकलन गरेर डम्पिङ साइटमा लगेर फाल्नु मात्र समाधान होइन । यसले पनि वातावरणमा असर पारिरहेको हुन्छ । यसका लागि स्थानीय तहले फोहोर संकलन गर्नुअघि घर–घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याएमा ९० प्रतिशत समस्या सहजै समाधान हुन सक्छ ।’ उनले यसका लागि प्रभावकारी नीति बनाउन पनि आवश्यक रहेको ठान्छिन् ।
सिलसिलाको यात्रा यतिमा मात्र रोकिनेवाला छैन । उनले भविष्यमा नीतिमार्फत फोहोर व्यवस्थापनको समस्यालाई कसरी समाधान गर्ने र कार्यान्वयनमा लान सकिन्छ भनी काम गर्ने सोच बनाएकी छन् । दुई महिनायता सरकारले देशभर रहेको प्लास्टिकको मात्रा र व्यवस्थापनबारे अध्ययन गरिरहेको छ । सिलसिला उक्त अध्ययन टोलीको नेतृत्वमा रही काम गरिरहेकी छन् ।
‘देशभर कति प्लास्टिक छ ? कति उत्पादन भइरहेको छ भन्ने केही पनि तथ्यांक सरकारसँग छैन,’ उनले भनिन्, ‘यसमा अध्ययन तथा अनुसन्धान गर्ने काममा व्यस्त छु । किन यसको व्यवस्थापन भइरहेको छैन ? र, कसरी गर्न सकिन्छ भनेर हामीले प्राविधिक अध्ययन गरिरहेका छौं ।’ उक्त अध्ययनको उद्देश्य फोहोर व्यवस्थापनको उपाय खोज्नु रहेको उनले सुनाइन् । यसैगरी नेपाली सेनासँग हिमाली क्षेत्र सरसफाइ अभियानमा समेत सहकार्य गर्दै आएकी छन् ।