काठमाडौं : नेपाल ओलम्पिक कमिटी (एनओसी) मातहत रहेका राष्ट्रिय खेल संघका पदाधिकारीले पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवालाई भेटी संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् ।
राष्ट्रिय खेल संघका पदाधिकारीहरुले आईतबार देउवाको बुठानिलकण्ठस्थित निजी निवासमा भेट गरी संयुक्त रुपमा चार बुँदे ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा रिक्त रहेका पदाधिकारी तथा सदस्यहरुको नियुक्ति यथाशिघ्र हुनेपर्ने विषयलाई मुख्य प्राथमिकतामा राखेका छन् ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३ (२) को ढ बमोजिम राष्ट्रिय खेल संघहरूको प्रतिनिधि हुने सदस्य पदका नियुक्ति विगतमा व्यक्तिगत पहुँचको आधारमा हुने गरेकोमा अब उप्रान्त उक्त सदस्यहरूको मनोनयन राष्ट्रिय खेल संघहरूको संस्थागत सिफारिसमा हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
यस्तै कर्णाली प्रदेशमा आयोजना हुने भनिएको १० औं राष्ट्रिय खेलकुदको मिति र खेलगत प्रतियोगिता स्थल तोक्ने कार्य सरोकारवाला खेल संघहरूसँगको छलफल र परामर्शमा यथाशिघ्र घोषणा गर्नुपर्ने, विगतलाई मनन गरी एक उच्च स्तरिय संयन्त्रको व्यवस्था गरी उक्त संयन्त्रमा खेल संघहरूको पनि संलग्नता रहने गरी १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई आर्थिक अपचलन र भ्रष्टाचाररहित ढंगबाट समापन गर्नुपर्ने उनीहरुको मात्र रहेको छ ।
साथै खेलाडीहरूलाई उपलब्ध गराउने खेल पोसाक र खेल सामाग्रीहरूको गुणस्तर परिक्षण गरिनुका साथै खेलाडीको खानपीन र आवासको उचित व्यवस्थापन हुनुपर्ने, भौगोलिक र प्राविधिक दृष्टिकोणले कर्णाली खेल स्थलको उचाईसँग अन्य सहभागी हुने प्रदेशको भूभागको बनावट र वातावरण फरक हुने भएकोले त्यस्ता प्रदेशका खेलाडीहरूलाई कम्तिमा पनि ३ देखि ४ दिन अघि नै खेल स्थलमा पुर्याउने व्यवस्था गरिनुपर्ने माग खेल संघले राखेका छन् ।
यसैगरी राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयकलाई तत्काल रोकी प्रत्यक्ष सरोकारवाला राष्ट्रिय खेल संघहरूको छलफल र सुझावसहित अन्य प्रक्रिया अघि बढाउनुपर्ने कुरामा उनीहरुले विशेष जोड दिएका छन् ।