काठमाडौं : इतिहासमै पहिलोपटक भएको सार्वभौम रेटिङमा नेपालले ऐतिहासिक रेटिङ पाएको छ । विश्वका तीन ठूला रेटिङ कम्पनीमध्ये एक फिच रेटिङ्सले नेपाललाई ‘डबलबी माइनस’ रेटिङ प्रदान गरेको हो । यो भारतको भन्दा दुई स्थान तलको रेटिङ हो, तर अन्य दक्षिण एसियाली मुलुकहरूमध्ये सबैभन्दा राम्रो हो । नेपालमा विदेशी मुद्रा सञ्चिति उत्कृष्ट भएको तथा बलियो आर्थिक वृद्धिको प्रक्षेपणका आधारमा फिचले नेपाललाई उस्तै अन्य देशको तुलनामा निकै उत्कृष्ट रेटिङ प्रदान गरेको हो ।
पहिलोपटक भएको रेटिङमा नै यस्तो रेटिङ प्राप्त गर्नु भनेको ऐतिहासिक भएको चार्टर्ड एकाउन्टेन्ट अनलराज भट्टराईले बताए । अल्पकालीन रूपमा नेपालकाे अर्थतन्त्र स्थिर रहने विश्लेषणको आधारमा यो ग्रेड पाएको उनको भनाइ छ । ‘नेपालमा राजनीतिक स्थिरता हुन्थ्यो भने यो भन्दा राम्रो डबलबी प्लस’ सम्मको रेटिङ आउन सक्थ्यो । तर, जे आएको छ त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ,’ उनले भने ।
कन्ट्री रेटिङ कम्पनीहरुको क्रेडिट रेटिङ गरेजस्तै हो, तर यो भने कुनै मुलुक वा सार्वभौम निकायको मात्रै गरिन्छ । सार्वभौम रेटिङले कुनै मुलुकको ऋणपत्रमा लगानी गर्दा आउनसक्ने जोखिमहरुबारे जानकारी दिन्छ, त्यसमा राजनीतिक जोखिम पनि पर्छ । कुनै देशको अनुरोधमा क्रेडिट रेटिङ एजेन्सीले त्यो मुलुकको आर्थिक तथा राजनीतिक वातावरणको स्वतन्त्र मूल्यांकन गर्छ र त्यसलाई रेटिङ प्रदान गर्छ । त्यति मात्रै होइन, विदेशी लगानीकर्ताहरुले कुनै मुलुकमा लगानी गर्नु कत्तिको सुरक्षित छ भनेर मूल्यांकन गर्न त्यो मुलुकको कन्ट्री रेटिङलाई हेर्ने गर्छन् ।
कुनै मुलुकलाई अन्तर्राष्ट्रिय बजारमा ऋणपत्र (बोन्ड) जारी गरी ऋण उठाउनका लागि क्रेडिट रेटिङ अनिवार्य रुपमा चाहिन्छ । साथै मुलुकहरुले विदेशी लगानी आकर्षित गर्न पनि रेटिङ गराउँछन् । विश्वका ठूला एस एण्ड पी, फिच र मुडीजले सबैभन्दा राम्रो ‘एएए’ (ट्रिपल ए)देखि सबैभन्दा नराम्रो सी ग्रेडसम्म राखेर रेटिङ गर्ने गर्छन् । उनीहरुबीच रेटिङ प्रदान गर्ने थोरै भिन्न हुने गर्छ । जस्तै, सबैभन्दा नराम्रो अर्थात् टाट पल्टेको मुलुक वा निकायलाई मुडिजले सी रेटिङ दिन्छ भने एसएन्डपीले एसडी र फिचले आरडी–डी रेटिङ दिन्छन् ।
त्यसमध्ये बीबीबी माइनसदेखि माथिको रेटिङलाई लगानीका लागि राम्रो मानिन्छ भने त्यसभन्दा मुनि बी माइनससम्मको लाई सट्टेबाजीको रेटिङ मानिन्छ । त्यसभन्दा मुनिको रेटिङलाई उच्च जोखिमयुक्त वा टाट पल्टिनसक्ने सम्भावना भएको मानिन्छ । जति खराब रेटिङ हुँदै गयो, त्यस्तो मुलुकले ऋण फिर्ता गर्न नसक्ने जोखिम बढी हुने वा लगानीको वातावरण खराब हुने मानिन्छ ।
क्रेटिङ रेटिङ गर्दा एजेन्सीहरुले ऋण तिर्ने अनुपात, आन्तरिक मुद्रा प्रदायको दर, आयात तथा निर्यातको दरलगायत धेरैवटा सूचकलाई हेर्ने गर्छन् । फिचको ए रेटिङमा विश्वका विकसित मुलुकहरु पर्छन् । डबलबी रेटिङमा पर्नु भनेको लगानीका लागि उत्कृष्ट स्थानमा पर्नु होइन, तर हाम्रोजस्तो मुलुकका लागि भने ऐतिहासिक नै भएको विश्लेषकहरु बताउँछन् ।
के आधारमा फिचले प्रदान गर्यो यो रेटिङ ?
यो रेटिङले नेपालमा बाह्य ऋणभार कम रहेको र अति नै सहुलियतपूर्ण रहेको भन्ने देखाउने फिचले जनाएको छ । खासगरी जलविद्युत क्षेत्रका कारण नेपालको आर्थिक वृद्धिको प्रक्षेपण बलियो र बाह्य तरलता सुदृढ रहेको देखिने पनि फिचले जनाएको छ । अल्पविकसित मुलुक बाह्य शक र प्राकृतिक प्रकोपको जोखिममा रहे पनि ऋणभार तथा वृद्धिको सम्भावनाले त्यसलाई सन्तुलनमा राखेको पनि उसले जनाएको छ ।
नेपालको संघीय सरकारको ऋण यो आर्थिक वर्षको अन्त्यमा जीडीपीको ४४ प्रतिशत रहने र त्यो डबल बी ग्रेडको मेडियन भन्दा निकै तल रहेको प
नेपाललाई के अवसर ?
नेपालको सार्वभौम रेटिङ हुनु आफैंमा महत्त्वपूर्ण उपलब्धि भएको चार्टर्ड एकाउन्टेन्ट भट्टराई बताउँछन् । ‘यसअघि नेपाल ‘ननरेटेड मुलुक थियो, त्यस्तो अवस्थामा नेपाल राम्रो छ कि खराब छ भन्ने तेस्रो पक्षले मूल्यांकन गरेको थिएन,’ उनी भन्छन्, ‘यसपछि अब विश्वासिलो तेस्रो पक्षले नेपालको अवस्था के छ भनेर मूल्यांकन गरेको छ ।’
विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न वा नेपालको सरकार तथा निजी क्षेत्रले विदेशबाट ऋण तथा बोन्डमार्फत रकम ल्याउन यसले बाटो खोल्ने उनले बताए । ‘यसले हाम्रो शाख बचाएको छ,’ उनी भन्छन् ।
नेपालले पहिलोपटक गरेको रेटिङमै ‘डबलबी माइनस’ पाउनु पनि उपलब्धिमूलक भएको उनले बताए ।
‘यो रिटिङले अल्पकालीन रूपमा स्थिर छ भन्ने देखिएको छ, दीर्घकालीन रूपमा जोखिमको सम्भावना देखाएको छ । तर, रेटिङ नै ६ ६ महिनामा हुने भएकाले अर्कोपटक यो फेरिन सक्छ,’ उनले भने ।
रेटिङ सुरु भएपछि अब यसमा कसरी सुधार गर्दै जाने भन्नका लागि नेपाललाई अवसर प्राप्त भएको पनि उनले बताए । ‘अबका दिनमा डबल बी प्लस वा ट्रिपल बीमा जान के के सुधार गर्नुपर्छ त, त्यो योजना बनाएर काम गर्न सकिने भयो, ’ उनले भने ।
रेटिङमा आधार लिइएका तथ्यांकीय विषयहरू (क्वान्टिटेटिभ ओभरले) मा नेपालको अवस्था राम्रो देखिए पनि गुणात्मक विषयहहरु (क्वालिटेटिभ आभरले) मा भने कमजोरी देखिएको उनले बताए ।
‘हाम्रोमा राजनीतिक अस्थिरता देखियो, प्रशासनिक पक्षमा पनि सुधार गर्नुपर्ने देखिएको छ । भ्रष्टाचार रोक्ने तथा संरचनात्मक सुशासन बढाउनुपर्ने देखिएको छ,’ उनले भने ।
कन्ट्री रेटिङले खोलेका अवसरहरू :
१. मुलुक ननरेटेडबाट रेटिङ गर्ने गरिएको मुलुकमा गयो, यो आफैंमा एउटा अवसर हो ।
२. विदेशी लगानीकर्तालाई अहिलेको अवस्थामा नेपालमा लगानी गर्न सकिन्छ भन्ने सन्देश नेपालले पाएको रेटिङले दिएको छ । यसले नेपाललाई विदेशी लगानीकर्ताको विश्वासिलो गन्तव्य मुलुकका रूपमा स्थापित गर्न सक्छ ।
३. विदेशी मुद्राको सञ्चिति बलियो भएको तर सरकारलाई स्रोत चाहिएको बेला बाहिरबाट ऋण ल्याउनका लागि सहयोग हुन्छ । विकासशील मुलुकमा स्तरोन्नति हुँदा अनुदान अझै घट्ने हुँदा त्यसबेला स्रोतको अभाव हुन नदिन यसले मद्दत गर्ने छ ।
४. सरकार तथा निजी क्षेत्रले विदेशको कमर्सियल बजारबाट ऋण तथा लगानी ल्याउन सजिलो बनेको छ तर यसमा कानुनी सुधार गर्न आवश्यक छ ।