काठमाडौं : गायिका मेनुका पौडेलको स्वरमा रहेको गीत ‘तेजस्वी अप्सरा’ सार्वजनिक भएको छ । गीतमा मनोज खड्काको शब्द, कल्याण सिंहको संगीत, दिक्षित पौडेलको एरेन्ज तथा लुमन स्थापितको रेकर्डिङ छ । गीतको भिडियो डिजाइन र सम्पादन संजीतकुमार घिसिङले गरेका छन् । गीतकार खड्काले दिवंगत आमा अप्सराको वार्षिकीको छेको पारेर आमाकै सम्झनामा गीत तयार पारेका हुन् । गीतको भिडियो लिरिकल शैलीमा तयार पारिएको छ । भिडियोमा गायिका मेनुका, गीतकार मनोज, संगीतकार कल्याण समेटिएका छन् ।
नेपाल सांगीतिक संघ र गीतकार संघ नेपालले हालै राजधानीमा आयोजना गरेको कार्यक्रममा गीतकार तथा साहित्यकार कालीप्रसाद रिजालले गीत सार्वजनिक गरेका थिए । गीतकार रिजालले खड्काको गीति लेखनको प्रशंसा गर्दै थप सिर्जनाको अपेक्षा गरेको बताए । संगीतकार शम्भुजीत बास्कोटाले ‘तेजस्वी अप्सरा’ शब्द, संगीत र स्वरको संगमले सिंगारिएको गीत रहेको बताए । अर्का गीतकार एसपी कोइरालाले यो गीतले साहित्य, समाज र संस्कृतिलाई जोडेको उल्लेख गरे । भारतमा रहेकी गायिका मेनुकाले अडियो सन्देश पठाउँदै एउटा राम्रो शब्दमा स्वर दिन पाएकोमा खुशी व्यक्त गरिन् ।
गीतका गीतकार खड्काले आत्मीय व्यक्ति गुमाउँदाको पीडाको भावलाई समेटेर ‘तेजस्वी अप्सरा’ लेखिएको बताए । ‘यो गीत मेरा लागि शब्द र मेलोडी मात्र भन्दा पनि पिस अफ हार्ट हो । आमा गुमाउदाको पीडालाई गीतमा उतार्न प्रयास गरेको छु । आफ्ना आत्मीयजन् गुमाएका श्रोता दर्शकले यो गीतको थप गहिराई महशूस गर्न सक्नुहुन्छ’, उनले भने । उनले आफूले गीत लेख्दा पीडा र ऊर्जालाई सन्तुलनमा राख्ने कोसिस गरेको बताए ।
गीतकार खड्का हाल अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएडको मुख्यालय वासिङ्टन डीसीमा कार्यरत छन् । खड्काले सम्बन्धका पाटा, प्रेरणाका स्रोत, वैदेशिक रोजगारजस्ता समाजका आयामहरुलाई मिहीन ढंगले गीतमा उतार्ने गरेका छन् ।
दर्जन हाराहारीमा गीत रेकर्ड गराईसकेका गीतकार खड्काको रामकृष्ण ढकालको स्वरमा रहेको ‘गाउँघरले सोध्यो परदेशीलाई’, र प्रमोद खरेल तथा डा. त्रिशला गुरुङको स्वरमा रहेको ‘तिमी जे बन उदाहरण बन’ चर्चामा छन् ।
भिडियो लिंक