नेपालले पहिलो हाफमा गोल गर्ने केही अवसर पाएपनि फिनिसिङ चुस्त हुन नसक्दा अग्रता लिने अवसर गुमायो। पहिलो हाफमा नेपालको सुरुवात सुस्त रह्यो । नेपालको टिम कम्बिनेसमै समस्या देखिएको थियो । १५ मिनेटपछि भने नेपालले लगातार भुटानमाथि आक्रमण गरेपनि गोल गर्न सकेन ।
नेपालले पहिलो अवसर १३ औं मिनेटमा पाएको थियो । रश्मी कुमारी घिसिङले बक्समा राम्रो अवसर पाएकी थिईन् । उनले भुटानी डिफेण्डरलाई छलाएर बक्स भित्रबाट हानेको बल भुटानी गोलकिपर संगिता मोनगरले बचाईन् ।
२० औं मिनेटमा नेपालले अर्को अवसर गुमायो । सविता राना मगरको कर्नरमा गीता रानाले हानेको हेडमा सिक्स यार्ड बक्समा रहेकी नेपालकै अमिसा कार्कीको हेडमा राखेर पोष्टमाथिबाट बाहिरियो ।
२४ औं मिनेटमा रश्मीले फेरि एकपटक राम्रो अवसर पाएकी थिईन् । रश्मीले बक्स भित्र पाएको बल डिफेन्डरलाई छलाएर प्रहनर गरेको बल पोष्टमाथिबाटै बाहिरियो ।
त्यसको दुई मिनेटपछि सरु लिम्बुले पनि अवसर गुमाईन् ।प्रिती राईले दिएको पासमा बल अगाडि बढाउँदै बक्स भित्रबाट सरुले हानेको प्रहार पोष्ट नजिकैबाट बाहिरिँदा नेपालले अगता लिने अवसर गुमायो ।
४० औं मिनेटमा भुटानी बक्समा नेपाली फरवार्डहरुले लगातार बल पाएपनि फिनिसिङ चुस्त हुन सकेन ।पहिलो हाफमा नेपालको आक्रमणमा भुटानी डिफेन्स लाईन र गोलकिपर संगिताको प्रदर्शन राम्रो रह्यो ।
दोस्रो हाफको सुरुमै प्रशिक्षक राजेन्द्र तामाङले रेनुका नगरकोटे र सरु लिम्बुको स्थानमा रेखा पौंडेल र दीपा शाहीलाई मैदान पठाएपछि नेपालले दबाब बनाएको थियो । तर समस्या फिनिसिङमै रह्यो ।
५२ औं मिनेटमा नेपालले गोल गर्ने राम्रो अवसर पाएको थियो । तर भुटानी किपर र डिफेन्सले उत्कृष्ट बचाउ गरे ।दीपा शाहीको कर्नरमा रेखा पौडेलले बक्सबाट हानेको प्रहार भुटानी किपर संगिताले बचाईन् ।
पूर्ण रुपमा क्लियर नभएको बल भुटानकी डिफेण्डर जमयाङ छोडेनले क्लियर गरिन् । नजिकै रहेकी अमिसा कार्कीले केही गर्न सकिनन् ।त्यसपछि पनि नेपालले लगातार भुटानी किपरले उत्कृष्ट बचाउ गरिन् ।
८३ औं मिनेटमा नेपाली सविता राना मगरले बक्सबाट हानेको लेफ्ट फुटेड प्रहार भुटानी किपर संगिता मोनगरले उत्कृष्ट बचाउ गरिन् ।ईन्जुरी टाईममा सविता राना मगर अभागी बनिन् । उनले बक्स बाहिरबाट हानेको प्रहार पोष्टमा लागेर बाहिरियो । बराबरीपछि समूह ए मा दुवै टोलीले समान १ अंक जोडेका छन् । नेपालले अब सोमबार माल्दिभ्ससँग खेल्नेछ ।