डालास, अमेरिका : नेपालले नेदरल्यान्ड्सविरुद्ध ट्वान्टी २० पुरुष विश्वकप क्रिकेट खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । नेदरल्यान्ड्सले डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशाला टस जितेपछि नेपाललाई ब्याटिङका लागि निम्त्याएको हो । नेपालका पुरानै जोडी कुशल भुर्तेल र आसिफ शेख ब्याटिङमा उत्रिएका छन् ।
वर्षाले भिजेका कारण खेल आधा घन्टा ढिला सुरु भएको हो । डालासमा बिहानैदेखि वर्षा भएको थियो । तर ९ बजे वर्षा रोकिए पनि मैदान भिजेका कारण टस हुन सकेको थिएन ।
नेपालबाट कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा र सागर ढकाल प्लेयिङ ११ मा खेलिरहेका छन् ।
अन्तिम समयमा टोलीमा समावेश गरिएका माइकल लेभिट नेदरल्यान्ड्सको टोलीबाट खेलिरहेका छन् । उनले मार्चमा नेपालमा भएको त्रिकोणात्मक शृंखलामा नेपालविरुद्ध दुई अर्धशतक प्रहार गरेका थिए ।