काठमाडौं : हङकङसँगको मैत्रीपूर्ण टीट्वेन्टी खेलमा नेपालले फराकिलो हार बेहोरेको छ । मिसन रोड ग्राउन्डमा शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली हङकङसँग ७३ रनले पराजित भएको हो ।
हङकङले दिएको दुई सय १३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा एक सय ३९ रनमा समेटिएको थियो । नेपालका विनोद भण्डारीले सर्वाधिक ४२ रन बनाए । यस्तै आरिफ शेखले ३८ र कप्तान रोहितकुमार पौडेलले ३० रन बनाए । नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपाललाई धरायशी बनाउन हङकङका एजाज खानले चार विकेट लिए । यस्तै ऐहसान खानले तीन तथा अतिक इक्वाल र नस्रुल्लाह रानाले एक÷एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले बाबर हयातको विस्फोटक पालिमा ६ विकेट गुमाउँदै दुई सय १२ रनको विशाल योगफल खडा गरेको थियो । चौथो नम्बरमा क्रिजमा आएका हयातले ४९ बलमा १३ छक्का र तीन चौकाको सहयोगमा एक सय १० रन बनाए । यस्तै अन्सी रथले ३९, मार्टिन कोइट्जीले ३१ र एजाज खानले २१ रन बनाए । नेपालका डेब्यु बलर आकाश चन्दले तीन विकेट लिए । यस्तै आरिफ शेख, प्रतिश जिसी र रासिद खानले एक÷एक विकेट हात पारे ।
नेपाल घरेलु टोली हङकङ र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक टीट्वेन्टी शृंखला खेल्न हङकङ पुगेको हो । शृंखलाको पहिलो खेल नेपाल र हङकङबीच आइतबार हुनेछ । मंगलबार नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ ।
Previous Article

नेपालमाला
