काठमाडौं : त्रिकोणात्मक टीट्वेन्टी शृंखला नेदरल्यान्ड्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको खेलमा घरेलु टोली नेपाल नेदरल्यान्ड्ससँग चार विकेटले पराजित भएको हो ।
नेपालले दिएको एक सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा पूरा गरेको थियो । नेदरल्यान्ड्सलाई शृंखला दिलाउन माइकल लेभिटले अर्धशतकीय पालि खेलेका थिए । उनले २९ बलमा तीन छक्का र ६ चौकाको सहयोगमा ५४ रन बनाए । यस्तै साइब्रान्ट एंगेलब्रेक्टले ४८, विक्रमजित सिंहले २९, म्याक्स ओडाउडले २२ र टिम भान डेर गुटेनले २१ रन बनाए । नेपालका कुशल मल्लले चार विकेट लिए । यस्तै अभिनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले एक÷एक विकेट हात पारे ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८४ रनको योगफल बनाएको थियो । नेपालका आसिफ शेखले सर्वाधिक ४७ रन बनाए । यस्तै गुलसन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५ र कुशल भुर्तेलले २० रन बनाए । नेदरल्यान्ड्सका फ्रेड क्लासेन, टिम भान डेर गुटेन, माइकल लिभेट र साइब्रान्ट एंगेलब्रेक्टले दुई÷दुई विकेट लिए ।
नेदरल्यान्ड्ससँग पराजित भएपछि नेपालका कप्तान रोहित पौडेलले पावरप्ले र डेथ ओभरमा बलिङ राम्रो हुन नसक्दा शृंखला गुमाउनु परेको बताए । ‘पावर प्ले र डेथ ओभरमा हाम्रो रणनीति सफल हुन सकेन । हाम्रो रणनीतिलाई नेदरल्यान्ड्सका खेलाडीले राम्ररी बुझे र त्यही अनुसार खेले’, रोहितले भने । उनले शृंखलामा भएका कमिकमजोरीलाई टीट्वेन्टी विश्वकपसम्म सुधार गर्ने बताए । नेपालले पावरप्लेको सुरुको ६ ओभरमा ६० रन खर्चिएको थियो भने डेथ ओभरको एकै ओभरमा २१ रन दिएको थियो ।
Previous Article
सुनको मूल्यमा नयाँ रेकर्ड
Next Article

नेपालमाला
