काठमाडौं : संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गरेअनुसार हिउँदे अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।
बैठक ढिलो बोलाइएका कारण शीर्ष नेताहरुको आज सम्बोधन नगरी आगामी २४ गतेको बैठकमा सम्बोधन गर्ने तयारी छ । यद्यपि संसद बैठकको कार्यसूची भने कार्य व्यवस्था परामर्श समितिको बैठकले तय गर्ने छ । यद्यपि आज पहिलो दिनको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।
यसैगरी बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची पनि छ ।