काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । पुलिस प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो ।
आर्मीले दिएको एक सय ८२ रनको लक्ष्य पुलिसले ३७.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो । पुलिसका शंकर राणाले अविजित ६२ रनको अर्धशतकीय पालि खेले । यस्तै अर्जुन साउदले ३६, अमित श्रेष्ठले २८, आरिफ शेखले २७ र कुशल भुर्तेलले १४ रन बनाए । आर्मीका जितेन्द्र मुखिया, कुशल मल्ल, सहाब आलम र बसिर अहमदले एक÷एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ४९.५ ओभरमा अलआउट हुँदै एक सय ८१ रनको योगफल खडा गरेको थियो । आर्मीका विवेक यादवले अर्धशतकीय पालि खेले । उनले ८१ बलमा ६३ रन बनाए । यस्तै सोमपाल कामीले ३९, इमरान शेखले २८ र कुशल मल्लले १७ रनको योगदान दिए । पुलिसका दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले तीन÷तीन विकेट लिए । यस्तै सागर ढकाल, करण केसी र कुशल भुर्तेलले एक÷एक विकेट हात पारे ।
बागमती प्रदेशका सूर्य तामाङ प्रतियोगिताका उत्कृष्ट खेलाडी चुनिए । उनले एक थान मोटरसाइकल पाए । सूर्यले समूह चरणका नौ खेलमा ३० विकेट लिएका थिए । उनी प्रतियोगिताको उत्कृष्ट बलरसमेत घोषित भए । उत्कृष्ट ब्याटर भने मधेस प्रदेशका अनिल साह चुनिए । उनले नौ खेलमा एक शतक र दुई अर्धशतकसहित तीन सय ८६ रन बनाएका थिए । बागमती प्रदेशका आशुतोष घिरैया उदयीमान खेलाडी घोषित भए ।
Previous Article