काठमाडौं : नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा शुक्रबार भएको खेलमा अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै नेपालले सुपर सिक्समा स्थान बनाएको हो ।
इष्ट लन्डनको बफेलो पार्क स्टेडियममा एक सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ब्याटिङमा निकै संघर्ष गर्दै जित आत्मसाथ गरेको हो । कप्तान देव खनाल व्यक्तिगत ५८ रनमा पेभेलियन फर्किएपछि नेपालले रनका लागि संघर्ष गर्नु परेको थियो । ३६.३ ओभरमा खनाल पेभेलियन फकिँदा नेपालले एक सय २७ मा सात विकेट गुमाएको थियो । जितका लागि नेपाललाई १९ रनको आवश्यक थियो । कप्तान खनाललाई साथ दिएका दीपक बोहरा क्रिजमा रहेकाले नेपालले सहज जित निकाल्ने आशा गरिएको थियो । तर, आठौं विकेटका रुपमा ४१.२ ओभरमा दीपक फरिदान दावदजाईको बलमा बोल्ड भएपछि नेपाल दबाबमा परेको थियो । १०औं नम्बरमा ब्याटिङ गर्न उत्रिएका आकाश चन्द पनि लामो समय टिक्न सकेनन् । आठ बलमा एक रन बनाउँदै आकाश पेभेलियन फर्किएपछि नेपाल संकटमा परेको थियो । उनी पेभेलियन फर्किंदा नेपालले १४४÷९ को अवस्थामा थियो । अर्थात जितका लागि दुई रन आवश्यक थियो भने एक विकेट मात्रै बाँकी थियो । ४५औं ओभर बलिङ गरेका अरब गुलले पहिलो बललाई वाइड फालेपछि स्कोर बराबर भएको थियो । त्यसपछि ४४.४ ओभरमा गुललाई चौका प्रहार गर्दै सुवास भण्डारीले नेपाललाई सुपर सिक्समा पु¥याएका थिए ।
एक सय ४६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको थियो । ओपनर अर्जुन कुमाल व्यक्तिगत १० रन बनाउँदै आउट भए भने अर्का ओपनर विपिन रावलले १९ बलमा दुई रन मात्रै बनाउन सके । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सिनियर टोलीका सदस्यसमेत रहेका गुलसन झाले एक रनभन्दा बढी बढाउन सकेनन् । त्यसपछि कप्तान खनाल र आकाश त्रिपाठीले नेपालको पालि सम्हालेका थिए । खनालले ८९ बलमा सात चौकाको सहयोगमा ५८ रन बनाए । आकाश त्रिपाठीले १६ र दीपक बोहराले २७ रनको योगदान दिए । चौका प्रहार गर्दै नेपाललाई जित दिलाएका सुवासले अविजित नौ रन बनाए । अफगानिस्तानका फरिदुन दावदजाईले तीन विकेट लिए । यस्तै खलिल अहमद र नासिर खानले दुई÷दुई तथा अल्लाह मोहमद गजानफार र अरब गुलले एक÷एक विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ४०.१ ओभरमा एक सय ४५ रनमा समेटिएको थियो । अफगानिस्तानका अल्लाह मोहमद गजानफारले ३७, कप्तान नासिर खानले ३१, फरिदुन दावदजाईले २९ र हसन इसाखिलले २० रन बनाए । अफगानिस्तानलाई कम योगफलमा समेट्न नेपालका आकाश चन्दले पाँच विकेट लिए । सुरुवातदेखि नै अफगानी खेलाडीलाई दबाबमा राखेका उनले आठ ओभरमा ३४ रन खर्चिए । यस्तै दीपेश कँडेलले दुई तथा गुलसन झा, सुवास भण्डारी र तिलक भण्डारी एक÷एक विकेट हात पारे ।
नेपाल समूह ‘डी’मा तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । हरेक समूहबाट तीन टोली सुपर सिक्समा पुग्ने प्रावधान छ । यस समूहमा नेपाल र अफगानिस्तानसँगै न्युजिल्यान्ड र पाकिस्तान थिए । समूह चरणमा नेपालले न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटको हात बेहोरेको थियो । नेपाल तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । यस समूहको विजेता र उपविजेताको टुंगो भने शनिबार हुने पाकिस्तान र न्युजिल्यान्डको खेलले लाग्नेछ ।
सुपर सिक्समा समूह ‘ए’ र समूह ‘डी’का टोलीले एक अर्कासँग खेल्ले छन् । समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् । यसैगरी ‘बी’ र समूह ‘सी’का टोली भिड्नेछन् । सुपर सिक्समा समूहमा पहिलो हुने टोलीले अर्को समूहको दोस्रो र तेस्रो टोलीसँग खेल्नेछ । यस्तै दोस्रो हुनेले अर्को समूहको पहिलो र तेस्रो तथा तेस्रो हुने टोलीले अर्को समूहको पहिलो र दोस्रोसँग खेल्ने तालिका छ ।
नेपालले आठ वर्षपछि यू–१९ विश्वकप खेलेको हो । यसअघि सन् २०१६ मा नेपालले यू–१९ विश्वकप खेलेको थियो । त्यतिबेला समूह चरणको खेलमा नेपालले न्युजिल्यान्ड र आयरल्यान्डलाई पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको थियो । क्वार्टरफाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।
नेपालका लागि गौरव क्षण ः कप्तान देव
खेलपछि नेपाली टोलीका कप्तान देव खनालले अफगानिस्तानमाथिको जित नेपालका लागि गौरवको क्षण भएको बताए । उनले लगातार दुई खेलमा पराजय बेहोर्दा पनि आफ्ना खेलाडीले उत्कष्ट प्रदर्शन गर्दै सुपर सिक्समा स्थान बनाउन सफल भएको बताए । ‘हामी आठ वर्षपछि विश्वकप खेलिरहेका छौं । सुपर सिक्समा पुग्नु हाम्रा लागि खुसीको क्षण हो’, उनले भने पछिल्लो समय क्रिकेटमा नेपालले धेरै प्रगति गरेको छ ।’
उनले अफगानिस्तानमाथिको जितको क्षण शब्दमा बयान गर्न नसकिने बताए । ‘यो क्षणलाई शब्दा बयान गर्न सकिँदैन । यो गौरवको क्षण हो । मैले भगवानलाई सम्झिरहेको थिएँ । जब सुवासले चौका हिर्काए, तब लामो सास फेरें’, उनले भने ।