काठमाडौँ : सरकारले रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरेको छ । वैदेशिक रोजगार विभागले बिहीबार एक सूचना जारी गर्दै ती दुई मुलुकमा भएको युद्ध र त्यसमा नेपाली मारिएको घटना सार्वजनिक भइरहेको प्रसंग उल्लेख गर्दै श्रम स्वीकृति रोकेको हो ।
‘हाल रसिया तथा युक्रेनबीच युद्ध भई रहेको तथा नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भई युद्धमा दुःखद निधन भएको समाचारहरु विभिन्न समाचार पत्रमा आई रहेको सन्दर्भमा र यस विषयमा अध्ययन तथा छानबिन समेत भईरहेकोले वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगत रुपमा नेपाली नागरिकहरु रसिया जाँदा हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गरी
विभागले सूचना जारी गर्दै यी दुई देशमा वैदेशिक रोजगारीका लागि दिंदै आएको संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति अर्को सूचना नआएसम्मलाई स्थगन गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । ‘रुसी सेनामा गएर नेपालीहरुकाे मृत्यु भएको खबर आइरहेको छ’ उनले भने, ‘यस विषयमा अध्ययन तथा छानबिन पनि भइरहेकाले हाललाई श्रम स्वीकृति रोकेका छौं ।’
हाललाई अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ’ विभागले जारी गरेको सूचनामा छ । हालसम्म रुसी सेनमा गएर ९ जना नेपालीको मृत्यु भएको छ भने रुसी सेनामा भर्ना भएका ४ जना नेपाली युक्रेनी सेनाको कब्जामा छन् ।

नेपालमाला
