काठमाडौं : बरिष्ठ समाजसेवी इन्द्रकुमार श्रेष्ठले स्वस्तिक तेक्वान्दो डोजाङका पदक विजेता खेलाडीलाई खेल पोसाक र नगद पुरस्कार प्रदान गरेका छन् । डोजाङका अध्यक्षसमेत रहेका श्रेष्ठले हालै सम्पन्न दोस्रो एनटीए लिग राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका पदक विजेता खेलाडीलाई ५० हजार रुपैयाँ बराबरको खेल पोसाक र नगद पुरस्कार प्रदान गरेको डोजाङका प्रमुख प्रशिक्षक प्रेमकुमार दर्नालले जानकारी दिए ।
गत मंसिर १४ देखि १६ गतेसम्म ललितपुरको सातदोबाटोमा सञ्चालन भएको दोस्रो एनटीए लिगमा स्वस्तिक तेक्वान्दो डोजाङका १० जना खेलाडीले सहभागिता जनाएका थिए । जसमध्ये चार स्वर्ण, दुई रजत र सात कांस्य गरी कुल १३ पदक जितेको प्रमुख प्रशिक्षक दर्नालले जानकारी दिए ।

डोजाङ स्थापना भएको छोटो समयमा नै एनटीए लिगजस्तो प्रतिष्ठित प्रतियोगितामा ठूलो सफलता पाएकोमा प्रमुख प्रशिक्षक दर्नालले खुसी व्यक्त गरे । ‘स्वस्तिक तेक्वान्दो डोजाङ स्थापना भएको छोटो अवधिमै लगातार सफलता हासिल गर्दै आएको छ । आफ्नो मेहनत अनुसारको नतिजा आउँदा खुसी लागेको छ’, मुख्य प्रशिक्षक दर्नालले भने । उनका अनुसार डोजाङ अध्यक्ष इन्द्रकुमार श्रेष्ठले यसअघि पनि खेलाडीको हौसला बढाउन धेरै पटक सहयोग गर्दै आएका छन् ।
पदक विजेता खेलाडीको सम्मानमा आयोजित कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ, पवन प्रकृति बोर्डिङ स्कुलका प्रधानाध्यापक उत्तरकुमार राई, खेलाडी तथा प्रशिक्षक रमण थापा, पूर्व राष्ट्रिय खेलाडी रामकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

नेपालमाला
