काठमाडौं : राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् । शुभ दीपावली तथा नेपाल सम्वत् ११४४ को अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पशुपति देवपाटनको पशुपति सिर्जनशील युवा क्लबले लामालाई मंगलबार सम्मान गरेको हो ।
क्लबका अध्यक्ष एवं कार्यक्रम संयोजक सुमन डंगोल, काठमाडौं क्षेत्र नं. ४ का सांसद गगनकुमार थापा, बागमती प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजुकुमार खत्री र काठमाडौं महानगरपालिका वडा नम्बर ८ अध्यक्ष आशामान संगतलागयतले राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक लामालाई सम्मान गरेका हुन् ।
गत अक्टोबर २२ देखि २८ तारिखसम्म चीनको हाङचाओमा भएको चौथो एसियाली पारा खेलकुदमा लामाको प्रशिक्षणमा नेपालले ऐतिहासिक पदक जितेको थियो । तेक्वान्दोको के–४४ विधाको महिला ५७ केजीमुनिको तौल समूहमा पलेशा गोवद्र्धनले नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् । नेपाल र सम्पूर्ण नेपालीको नाम र इज्जत उच्च पार्न प्रशिक्षकको भूमिकामा उनले पु¥याएको योगदानको कदर गर्दै क्लबले सम्मान गरेको हो ।
प्रशिक्षकका रुपमा लामाले विभिन्न अन्तर्राष्ट्रिय पारा प्रतियोगितामा नेपाललाई ९ वटा पदक दिलाइसकेका छन् । अन्तर्राष्ट्रिय लेभल–२ प्रशिक्षक लामाको प्रशिक्षणमा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य पदक जितेको छ । पलेशाले एक स्वर्ण र १ कांस्य, सिर्जना घिसिङले १ स्वर्ण र २ रजत, रञ्जना धामीले २ कांस्य तथा विक्रम श्रेष्ठ र विशाल गर्बुजाले समान १–१ कांस्य पदक जितेका छन् । पलेशाले टोकियो पारा ओलम्पिकमा दुई ‘बाउट’ जितेर इतिहास रचेका बेला पनि लामा प्रशिक्षक थिए । लामाले विगत आठ वर्षदेखि स्वयंमसेवक प्रशिक्षकका रुपमा पारा खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन् ।
सोही कार्यक्रममा नेपाली राष्ट्रिय पौडी खेलाडी अदिप्शा वैद्यलाई पनि सम्मान गरिएको थियो । सन् २०१९ मा हंगेरीको बुढापेस्टमा आयोजना भएको जुनियर वल्र्ड च्याम्पियनसिपमा सहभागिता जनाएकी उनले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुदमा समेत प्रतिस्पर्धा गरेकी वैद्यले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् ।
Previous Article