काठमाडौं : विशेष साधारण सभाले बर्खास्तीको प्रस्ताव अस्वीकृत गरेसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङको पद जोगिएको छ । तर, आगामी दिनमा काम गर्न भने झन् कठिन हुने देखिएको छ । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराएर ६ असार २०७९ मा एन्फाको नेतृत्वमा आएका नेम्वाङले वर्ष दिन पुग्दानपुग्दै ‘अविश्वास प्रस्ताव’ फेस गर्नु पर्यो ।
अध्यक्ष नियुक्त भएपछि धेरै काम गर्ने योजना सुनाए पनि सुरुदेखि नै उनले त्यो अनुसार काम गर्न सकेनन् । पदाधिकारीको शपथकै दिन विना एजेन्डा महासचिव र कोषाध्यक्ष नियुक्ति गरेपछि असन्तुष्टि सुरु भएको थियो । त्यो बढ्दै गएपछि निवर्तमान अध्यक्ष शेर्पाकै अगुवाइमा बहुमत सदस्यले १९ वटा आरोप सहित अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग सहित एन्फामा २५ भदौमा निवेदन दिए ।
एन्फाको इतिहासमा ‘अविश्वास प्रस्ताव’ फेस गर्ने उनी पहिलो अध्यक्ष हुन् । एन्फा विधानमा ४० प्रतिशत सदस्यले आवेदन दिएपछि एक महिनाभित्र विशेष साधारण सभा बोलाउनुपर्ने र प्रस्ताव पास गर्न दुईतिहाइ चाहिने व्यवस्था छ । १७ असोजमा एन्फा कार्यसमितिको आकस्मिक बैठकले अध्यक्षको बर्खास्तीको एजेन्डा मात्र समावेश गर्दै २३ कात्तिकमा विशेष साधारण सभा बोलायो । बिहीबार मकवानपुरको हेटौंडामा भएको विशेष साधारण सभामा महासचिव किरण राईले अध्यक्ष नेम्वाङलाई बर्खास्त गर्नुपर्ने प्रस्ताव पेश गरे । अध्यक्ष नेम्वाङ बोले, तर प्रस्तावकलाई बोल्न नदिएको भन्दै असन्तुष्ट पक्षले विरोध गर्यो ।
उनीहरू बैठक छाडेर हिंडे । विधि र विधान अनुसार नचलेकाले आफूहरू मतदान प्रक्रियामा भाग नलिएको नेम्वाङ बर्खास्तीका मुख्य प्रस्तावक तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए । ‘विधि र विधान अनुसार निर्वाचन प्रक्रियामा गइएन । कार्यसूची अनुमोदन नै नगरी मतदान गरियो’ शेर्पाले भने, ‘अध्यक्षले मात्र बोल्नुभयो, प्रस्तावकलाई बोल्न दिनुभएन ।’
त्यसका बाबजुद मतदान भयो । एन्फाको कुल १०७ सदस्य (जिल्ला, क्लब र संघ)मध्ये ८७ जनासँग मात्र मताधिकार थियो । ३४ जना मतदान प्रक्रियामा सहभागी नै भएनन् ।५३ जनाले मात्र मतदान गरे । ५२ जनाको मत सदर भयो, सबै नेम्वाङलाई अध्यक्षबाट हटाउने प्रस्तावको विपक्षमा खसेको मत थियो ।
विशेष साधारण सभाबाटै बर्खास्तीको प्रस्ताव अस्वीकृत भएसँगै एन्फा अध्यक्ष नेम्वाङको पद जोगिएको छ । ‘पद त जोगियो, तर अब आउने दिनमा अहिले देखिएका सबै कमी–कमजोरी सुधार गर्नुपर्ने चुनौती छ’ एन्फाका एक केन्द्रीय सदस्य भन्छन्, ‘नभए अझै गाह्रो अवस्था आउन सक्छ ।’
अबका दिन झन् चुनौतीपूर्ण
अध्यक्षमा निर्वाचित भएपछि पंकज नेम्वाङले सबैलाई समेटेर अघि बढ्ने, आर्थिक श्वेतपत्र जारी गर्ने, महिला फुटबल एकेडेमी सञ्चालनको काम अघि बढाउने योजना सुनाएका थिए । आफ्नो चारवर्षे कार्यकालमा नेपालले साफ च्याम्पियनसिप जित्ने गरी लिग गर्ने, राष्ट्रिय लिग सुरु गर्ने पनि बताएका थिए ।
एकवर्षे कार्यकाल ठीक विपरीत रह्यो । एन्फाले बल्लतल्ल शहीद स्मारक ए डिभिजन लिग गरे पनि बी र सी डिभिजन लिग, राष्ट्रिय लिग गर्न सकेन । पुरुष र महिला दुवै टिमले मैदानमा अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको छैन । यही बेला रााष्ट्रिय टिमका खेलाडीहरू धमाधम विदेश (धेरैजसो अष्ट्रेलिया) पलायन हुन थालेपछि राष्ट्रिय टिमको संरचना नै बिग्रिएको छ ।
एन्फा पनि आन्तरिक विवादमा अल्झिएको छ । विशेष साधारण सभाले पनि त्यो विवाद समाधान गर्न सकेन । यो अवस्थामा हाराहारीको असन्तुष्टि समूहलाई साथमा नलिई अघि बढ्न अध्यक्ष नेम्वाङलाई सहज हुनेछैन । ‘बिग्रिएको सम्बन्धहरू सुमधुर बनाउनुपर्छ, असन्तुष्ट पक्षहरू सबै मिलेर नै अघि बढ्नुपर्छ’ एक केन्द्रीय सदस्य भन्छन्, ‘अब लिगहरू सबै गर्नुपर्छ, आर्थिक पक्ष पारदर्शी बनाएर काम गर्नुपर्छ । नत्र गाह्रो हुन्छ ।’
एन्फा प्रवक्ता सुरेश शाह पनि आगामी दिन चुनौतीपूर्ण रहेकाले मिलेर जानुको विकल्प नभएको बताउँछन् । ‘विवाद गरौं भन्नेतर्फ एन्फा छैन । मुख्य कुरा भनेको सबै मिलेर फुटबलको विकास गरौं भन्ने नै हो । तर पूर्वअध्यक्षहरूले फुटबललाई मैदान बाहिर लैजाने काम गर्नुभयो’ प्रवक्ता शाहले भने, ‘हामी सबै कुरामा छलफल गर्न तयार छौं । आन्तरिक समझदारी गरेर अगाडि बढौं भन्ने नै हो ।’
असन्तुष्ट समूहको नेतृत्व गरेका हिमालयन शेर्पा क्लबका अध्यक्ष शेर्पा पनि विधि–विधान अनुसार एन्फालाई चलाउनुपर्ने र फुटबल राम्रोसँग चल्नुपर्ने आफूहरूको माग भएको बताउँछन् । एन्फा नेतृत्वले राम्रो काम गरे समर्थन हुने भन्दै उनले भने, ‘हाम्रो मुख्य माग भनेकै विधि र विधान अनुसार चल्नुपर्छ भन्ने हो ।’
आर्थिक पारदर्शिता हुनुपर्ने, लिग र उमेर समूहको प्रतियोगिता गर्नुपर्ने, एकेडेमी सञ्चालन हुनुपर्ने भन्दै एन्फाका पूर्वअध्यक्ष समेत रहेका शेर्पाले अघि भने, ‘हामीले भनेको यत्ति हो ।’