काठमाडौं : टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपालले सुखद् सुरुवात गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले पराजित गरेको हो ।
सिंगापुरले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले कुशल भुर्तेलको अर्धशतकीय पालिको सहयोगमा १६.३ ओभरमा दुई विकेट गुमाएर जित निकालेको हो । आक्रामक ब्याटिङ गरेका कुशलले ७४ रन बनाए । उनले ४८ बलमा दुई छक्का र आठ चौका प्रहार गरे । यसैगरी कप्तान रोहितकुमार पौडेलले अविजित ३५, आसिफ शेखले २७ र कुशल मल्लले ६ रन बनाए । सिंगापुरका अनन्त कृष्णा र अक्षय पुरीले एक÷एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४५ रनको योगफल खडा गरेको थियो । सिंगापुरका रोहन रंगाराजनले सर्वाधिक ४६ रन बनाए । यस्तै आर्यवीर चौधरीले ३७, मनप्रित सिंहले २४ र अक्षय पुरीले १३ रन बनाए । सिंगापुरलाई सस्तैमा समेट्न नेपालका अभिनाश बोहराले तीन विकेट लिए । यस्तै करण केसी, सन्दीप लामिछाने र गुलशन झाले दुई÷दुई विकेट हात पारे ।
Next Article

नेपालमाला
