काठमाडौं : त्रिकोणात्मक टीट्वेन्टी शृंखलाको उपाधि संयुक्त अरब इमिरेट्स (यूएई)ले जितेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा घरेलु टोली नेपाललाई चार विकेटले निरास बनाउँदै यूएईले शृंखला जितेको हो ।
नेपालले दिएको एक सय ६३ रनको लक्ष्य यूएईले ६ विकेट गुमाएर एक बल अगावै पूरा गरेको थियो । यूएईलाई जित दिलाउन कप्तान मोहमद वासिमले ४५ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले २२ बलमा दुई छक्का र सात चौका हिर्काए । यस्तै भृत्या अरविन्दले २६, आर्यांश शर्माले २५, बसिल हमिदले २२, अलिसान सफारुले १३ र अली नासिरले ११ रनको योगदान दिए । नेपालका गुलशन झा र अविनाश बोहराले दुई÷दुई तथा कुशल मल्लले एक विकेट लिए ।
यसअघि यूएईले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६२ रनको योगफल खडा गरेको थियो । ओपनर कुशल भुर्तेलले ५० रनको अर्धशतकीय पालि खेलेका थिए । यस्तै करण केसीले २३, दीपेन्द्रसिंह ऐरीले २०, कप्तान रोहित पौडेलले १८, सोमपाल कामीले १३ र सन्दीप जोराले १० रन बनाए । यूएईका आयन खानले तीन विकेट लिए । यस्तै अली नासिर र जाहुर खानले दुई÷दुई तथा जुनेद सिद्धिकीले एक विकेट हात पारे ।
त्रिकोणात्मक टीट्वेन्टी शृंखलामा नेपाल अपराजित रहँदै फाइनल पुगेको थियो । लिग चरणका दुवै खेलमा नेपालले यूएईलाई पराजित गरेको थियो । शृंखलामा नेपालका करण केसी प्लेयर अफ दी सिरिज चुनिए । उनले मोटरसाइकल पुरस्कार पाए । करण प्रतियोगिताको उत्कृष्ट बलरसमेत बन्न सफल भए । उनले पाँच खेलमा १० विकेट लिएका थिए । यसैगरी यूएईका बसिल हमिद उत्कृष्ट ब्याटर चुनिए । उनले पाँच खेलमा एक सय ५९ रन बनाएका थिए ।
टीट्वेन्टी विश्वकप छनोटको तयारीका लागि नेपालले हङकङ र यूएई सम्मिलित त्रिकोणात्मक टीट्वेन्टी शृंखला आयोजना गरेको हो । आईसीसी टीट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुर र मूलपानी मैदानमा हुने प्रतियोगिताको समूह ‘ए’मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन् । यस्तै समूह ‘बी’मा हङकङ, यूएई, बहराइन र कुवेत छन् । फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा हुने टीट्वेन्टी विश्वकप खेल्न पाउनेछ ।
घरेलु टोली नेपालले सोमबार सिंगापुरसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र सिंगापुरबीचको खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ । यस्तै मंगलबार मलेसिया र बिहीबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’का खेल त्रिवि मैदान र समूह ‘बी’का समूह चरणका खेल मूलपानी मैदानमा हुनेछ ।
Previous Article
मुगुमा एकै परिवारका ४ जनाको हत्या
Next Article

नेपालमाला
