काठमाडौं : साउथन सुवुर्व रग्बी युनियन क्लब अस्टे«लियाले गोर्खाली रग्बी क्लबलाई खेल सामग्री सहयोग गरेको छ । काठमाडौंको टोखामा आयोजित कार्यक्रममा अस्ट्रेलियाले विभिन्न खेल सामग्री सहयोग गरेको हो । अस्ट्रेलियाका पूर्व रग्बी खेलाडी तथा साउथन सुवुर्व रग्बी युनियनकासदस्य समेत रहेका जासन स्टार्कीले गोर्खाली रग्बी क्लबका अध्यक्ष रोहित कार्की, सचिव प्रेम कोइराला, कोषाध्यक्ष श्रीराम श्रेष्ठ र कर्णाली प्रदेश रग्बी संघका अध्यक्ष सुरेन्द्र कुँवरलाई खेल सामग्री प्रदान गरेका हुन् ।

गोर्खाली रग्बी क्लबले हालै कर्णाली प्रदेश रग्बीसँग सहकार्य गरेको छ । गोर्खालीले दुई वर्षसम्मका लागि कर्णाली प्रदेशमा रग्बी खेलको विकास र विस्तारमा सहयोग गरिरहेको छ । ग्रासरुटदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने अभियानसहित गोर्खालीले काम गर्दै आएको छ ।
सन् २०१६ मा नेपाल रग्बी संघबाट पूर्ण सदस्य पाएको गोर्खालीले थुप्रै राष्ट्रिय प्रतियोगिताको उपाधि जितिसकेको छ । पछिल्लो समय मात्रै गोर्खालीले लगातार तीन वटा राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको थियो । गोर्खाली रग्बी क्लबका उपाध्यक्ष तथा राष्ट्रिय टोलीका पूर्वकप्तान कृष्ण थापा हाल न्युजिल्यान्डमा कोचिङ कोर्स गरिरहेका छन् । उनकै पहलमा साउथन सुवुर्व रग्बी युनियनसँग सहकार्य भएको हो । थापाले गाउँदेखि सहरसम्म रग्बी खेलको विकासका लागि गोर्खाली क्लब निरन्तर रुपमा लागिपर्ने बताए ।

साउथन सुवुर्व रग्बी युनियनका सदस्यसमेत रहेका जासनले दुवै क्लबबीच आदानप्रदान कार्यक्रम सञ्चालन गरिने र गोर्खालीलाई खागामी दिनमा पनि निरन्तर रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए । गोर्खाली क्लबका अध्यक्ष रोहित कार्कीले खेलाडीको स्तर बढाउन युनियनसँग सहकार्य गरेर अघि बढ्न पाउँदा खुसी लागेको बताए । कार्यक्रममा यू–२० एसियाली प्रतियोगिताको तयारी गरिरहेका गोर्खाली रग्बी क्लबका प्रमेश पनेरुलाई १० हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको थियो । यू–२० प्रतियोगिताको बन्द प्रशिक्षणका क्रममा घाइते भएकी यशोदा बोहरालाई पनि आर्थिक सहयोग उपलब्ध गराउने क्लबका सचिव कोइरालाले जानकारी दिए । उनका अनुसार क्लबले राष्ट्रिय प्रतियोगिताका साथै जुनियर टच प्रतियोगिता पनि आयोजना गर्ने भएको छ ।

नेपालमाला
