काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले इतिहासले नै सम्झिने गरी कयौं सहासिक र जनपक्षीय कामको सुरुआत गरेको बताएका छन् । आज पार्टीको तीन महिने विशेष रुपान्तरण अभियानको भर्चुअल रुपमा उद्घाटन गर्दै प्रचण्डले आफ्नो नेतृत्वको सरकारले इतिहास लेखिने गरी सामाजिक न्याय र सुशासनको पक्षमा काम गरेको बताएका हुन् ।प्रचण्डले भने, ‘सरकारले इतिहासले नै सम्झिने गरी कयौं सहासिक र जनपक्षीय कामहरु अगाडि बढाएको छ ।’
सरकारले विकास र समृद्धिलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उनले अहिले जनतामा निराशा चरेर आशा र भरोभाको वातावरण बढेको दाबी गरे । जनतामा सरकार र प्रणालीप्रतिको विश्वास बढ्दै गएको उनको भनाइ छ । उनले नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन तस्करी प्रकरणको कारबाहीले राज्य शक्तिको दुरुपयोगबाट भएका अपराध कर्मको पर्दाफास गरिएको बताए । साथै प्रचण्डले पार्टीको रुपान्तरण अभियानले पार्टीलाई सक्षम बनाउने विश्वास व्यक्त गरे ।
सिंगो पार्टी एकढिक्का भएर अघि बढे सबै चुनौतीको सामना गर्न सकिने बताउँदै उनले देशैकै बलियो पार्टीका रुपमा रुपान्तरण गर्न सकिने दाबी गरे । पार्टीको जीवनका लागि र देशको उज्वल भविष्यका लागि यो अभियान सुरु गरेको भन्दै उनले यसले जनसम्बन्ध बलियो बनाउने बताए ।
प्रचण्डले भर्चुअल रुपमा देशभरका सबै वडामा एक साथ ‘जनतासँग माओवादी स् विशेष रुपान्तरण अभियान’को उद्घाटन गरेका हुन् । यो अभियानअन्तर्गत पार्टीका सबै शीर्ष नेताहरू समेत वडावडामा पुग्ने कार्यक्रम तय भएको छ । यसक्रममा प्रधानमन्त्री समेत रहेका प्रचण्ड चन्द्रागिरि नगरपालिका (२ घट्टेडाँडाको कार्यक्रममा जाने छन् ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका(२८ हरिसिद्धीको कार्यक्रममा सहभागी हुनेछन् । सबै पदाधिकारी जाने वडाहरु तोकिएको छ । अभियानका क्रममा जनताको घरघरमा जाने र जनतालाई सुन्ने माओवादीको योजना छ । माओवादीले यो अभियानलाई आफूहरूको अन्तिम परीक्षा भएको बताएको छ ।