काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक जारी छ । समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति पौडेलले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु भने सहभागी छैनन् । राष्ट्रपतिले संविधान विपरीत अनावश्यक सक्रियता देखाएकाले पार्टीबाट कोही पनि बैठकमा सहभागी नभएको एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।
सुन तस्करीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० गतेदेखि संसद अवरुद्ध गर्न थालेपछि राष्ट्रपतिले त्यसमा चासो राख्दै आएका छन् । यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेसँग शीतल निवासमा छलफल गरेका थिए । यही क्रममा आज उनले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएका हुन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बैठकमा संसद अवरोध खुलाउन भइरहेको प्रयास र समसामयिक राजनीतिबारे जानकारी लिने-दिने काम हुने बताए । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित एमालेले निरन्तर संसद् अवरोध गरेपछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन् । उनले प्रधानमन्त्री, केही दलका नेता तथा सभामुख र राष्ट्रियसभा अध्यक्षसँग समेत छलफल गरेका थिए ।