काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुँदै छ । उनले काठमाडौंको गौशालास्थित एक होटलमा एक नाबालिकलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका छन् । पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन ।
यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले भने लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश दिएको थियो ।
सन्दीप एसिया कपका लागि घोषित टोलीका सदस्य सन्दीप एसिया कपको तयारी गरिरहेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको थियो। एसिया कपका लागि नेपाल एक साता अघि नै पाकिस्तान जाने भएको छ। त्यहाँ विशेष प्रशिक्षण गर्नुका साथै स्थानीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने क्यानले जनाएको छ। एसिया कप क्रिकेट अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुँदैछ। नेपालले पहिलो खेल अगष्ट ३० मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ। त्यसपछि नेपाली टोली श्रीलंका प्रस्थान गर्नेछ। श्रीलंकाको क्यान्डीमा सेप्टेम्बर ४ मा भारतसँग प्रतिस्पर्धा गर्नेछ।