काठमाडौं : प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ ।
बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले जानकारी दिए ।
सीताको उपचारको क्रममा बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो। स्वास्थ्य अवस्था गम्भीर भएपछि दाहाललाई आज बिहान अस्पताल लगिएको हो। प्रधानमन्त्री प्रचण्ड पनि बिहानै नर्भिक अस्पताल पुगेका छन्।
उनी पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित थिइन्। उनलाई मधुमेह, उच्च रक्तचापसमेत थियो। यस अगाडि उपचारको लागि उनलाई अमेरिका, भारत र सिंगापुरमा लगिएपनि स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको थिएन। मस्तिष्कका स्नायु कोष (नर्भ सेल) क्षय हुने यो रोगले बिरामीलाई मानसिक र शारीरिक रूपमा कमजोर बनाउँछ।

नेपालमाला
