काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो विवादित अभिव्यक्तिबारे संसद्समा स्पष्टोक्ति दिएका छन्। आफ्नै अभिव्यक्तिले विवादित बनेपछि प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा स्पष्टोक्ति दिएका हुन्।
असार १८ गते पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित रास्वपा र राप्रपाले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएका थिए।
आफू प्रधानमन्त्री बनेको कुरा प्रतिपक्षलाई राम्ररी थाहा हुँदाहुँदै राजीनामा माग्नु गम्भीर विषय भएको उनको भनाइ छ। प्रधानमन्त्रीले भने,’ प्रितम सिंह दिल्ली गएर मलाई प्रधानमन्त्री बनाएका त होइनन्। प्रतिपक्षका दलका ती साथीहरू जसले लिखित रुपमा प्रस्तावित गरेर मलाई प्रधानमन्त्री बनाउनुभयो उहाँबाट राजीनामा आएको देख्दा गम्भीर भएको छु। यो भन्दा अगाडि नबोलौं लाग्छ। त्यतिबेला के स्थिति थियो। अरूको के थियो। भित्रबाहिर। म प्रधानमन्त्री कुन परिवेशमा र कसरी भएँ भन्ने कुरा प्रमुख प्रतिपक्ष दलका नेताहरूलाई राम्ररी थाहा छ। उहाँहरूबाट राजीनामा आउनु गम्भीर विषयको रुपमा लिएको छु।’
जवाफ दिने क्रममा प्रधानमन्त्रीले आफू मन र दिमागले बोल्ने गरेको बताए। जसका कारण कहिलेकाही भावनात्मक रुपमा कुरा गर्दै आलोचित बन्नु परेको उनको भनाइ छ। ‘कहिले मन अगाडि हुन्छ कहिले दिमाग।
दिमाग अगाडि भएको बेलामा विज्ञान हावी भइराखेको हुन्छ। मन अगाडि भइराखेका बेला आवेग, आवेश भनौं या भावना भइराखेको हुन्छ। यो कुराको सैद्धान्तिक ज्ञान मलाई थाहा नभएको भने होइन।’
उनले विषयवस्तुको अन्तरेभन्दा पनि रुप हेर्ने संस्कारको अहिले हावी भइरहेको बताए। यस्तो बेलामा भावुकताले काम गर्दैन भन्ने निष्कर्शमा पुगेको बताउँदै प्रधामन्त्री दाहालले भविष्यमा यसप्रति सतर्क रहने बताए।

नेपालमाला
