काठमाडौँ : कोशी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकी मुख्यमन्त्री हिक्मत कार्की पदमुक्त भएसँगै नेकपा एमाले केन्द्र र सात प्रदेश सरकारबाट बाहिरिएको छ ।
फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा केन्द्रमा नयाँ समिकरण बनेपछि प्रदेशमा एकपछि अर्को गर्दै एमाले नेतृत्वका सरकार ढले । गण्डकीका मुख्यमन्त्री अधिकारी वैशाख ९ गते सरकारबाट बाहिरिएका थिए भने लुम्बिनीका मुख्यमन्त्री गिरी नेतृत्वको सरकार वैशाख ११ गते ढलेको थियो ।
कोशी प्रदेशमा सरकार कसको बन्ने भन्ने अन्यौल रहेको छ । मधेश प्रदेशमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री रहेका छन् । वागमतीमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल, गण्डकीमा कांग्रेसका सुरेन्द्र पाण्डे, लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरी, कर्णालीमा माओवादी केन्द्रका राजकुमार शर्मा र सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री रहेका छन् । गत मंसिरमा भएको आमनिर्वाचन अघि पनि एमाले सातै प्रदेश र केन्द्रको सरकारबाट बाहिरिएको थियो ।

नेपालमाला
