कानमा झुम्काना तिम्लाई कल्ले किन्दियो
नाकको बुलाकी तिम्लाई कल्ले किन्दियो
पाउमा लाको पाउजु
हातमा सुनको चुरा
तिमीलाई कल्ले किन्दियो…’
प्रकाश सपुतकाे शब्द, संगीत तथा स्वरमा रहेकाे गीत ‘सकम्बरी’ यतिबेला चर्चाको केन्द्रमा छ । कतिपयले यो गीत नारीद्वेषी भएको भन्दै विरोध गरिरहेका छन् भने कतिपयले सपुतको समर्थन गरिरहेका छन् ।
गीतले महिलालाई होच्याएको भन्दै सामाजिक सञ्जालमा कतिपयले विरोध गरिरहेका छन् । पारिजातद्वारा लिखित चर्चित उपन्यास शिरिषको फूलको शीर्ष पात्रको नामलाई लिएर सपुतले पात्र स्थापना गरेका छन् । तर सकम्बरीको चित्रण गीतमा उपयुक्त नभएको भन्ने आरोप पनि छ ।
यो आरोप–प्रत्यारोपका बीचमा रिलिज भएदेखि नै यो गीत नेपाल युट्युब ट्रेन्डिङको शीर्षस्थानमा छ । झण्डै ५७ लाख पटक यो गीत हेरिएको छ । सपुतले अघिल्लोपटक ल्याएको गीत ‘पीर’ले पनि चर्चा बटुलेको थियो । माओवादी पार्टीको कोणबाट त्यतिबेला सपुतको विरोध भएको थियो ।
नेपालमा चर्चा भइरहँदा गायक सपुत चाहिं सांगीतिक टुरका लागि यतिबेला अमेरिकामा छन् । सपुतले आफूले पितृसत्तात्मक कोणबाट उक्त गीत प्रस्तुत गरेको र विम्बपरक ढंगले सबै क्षेत्रको यथार्थ प्रस्तुत गरेको बताएका छन् ।
पछिल्लो विरोधलाई कसरी लिनुहुन्छ ?
कुनै गीत बनाउँदा होस् या फेसबुक स्टाटस लेख्दा यस्ता आरोप प्रत्यारोप र विचार विमर्श हुने गर्छन् । क्रिया गरेपछि त्यसमा प्रतिक्रिया हुन्छ । तर, हाम्रोजस्तो अस्थिर र मिश्रित समाजमा, राजनीतिक रुपमा विचलित र निराशावादी समयमा रहेको देश तथा समाजले लय नपक्रिसकेको अवस्थामा साना–साना कुरामा यो सहि हो कि यो गलत हो कि भन्ने विषयमा चर्चा हुनु स्वभाविक हो ।
सामाजिक सञ्जालमा विचार राख्दा जता हावा चल्छ उतै लाग्ने एउटा झुण्ड छ । अर्को झुण्ड चाहिँ उल्टो गतितिर बगियो भने अरुभन्दा विशेष भइन्छ भन्ने पनि छ । यसमा हाम्रा कतिपय कुराहरु विषयान्तर हुने गर्छन् । मुख्य मुद्दाहरु हल्कारुपमा सल्टिन्छन् र बिलाउँछन् । मुद्दालाई एउटा चीजमा पु¥याउनुपर्ने तर उल्टोसुल्टो हावा चलेर विषयहरु नै कता-कता भूमरीमा परिरहेका हुन्छन् ।
केही कथित नारीवादीले जुन कोणबाट कुरा उठाइरहनुभएको छ, उहाँहरु पनि पितृसत्तात्मक सोच राख्ने पुरुषहरुजस्तै सकम्बरी र उसको गतिविधिलाई मात्र नियालेर उहाँहरु अगाडि बढिरहनुभएको छ । खासमा सकम्बरी अर्थात फूलमाया पात्रमार्फत पुरुष चरित्रहरुलाई राम्री केटी देख्ने वित्तिकै हामीमा आउने दृष्टिकोण र अहिलेको समाजका केही महत्वाकांक्षी महिलालाई प्रस्तुत गरेका छौं । १५ मिनेटको गीतमा धेरै पात्र मिसाइएर र धेरै घटनाक्रम देखाइँदा मान्छे अलमलिनु स्वभाविक हो । तर, विषयका हिसाबले जुन कोणबाट हेरिएको छ, यो अत्यन्तै संकुुचित दृष्टिकोण हो । यो अत्यन्तै कमसल कला चेतना हो जस्तो मलाई चाहिँ ।
यो गीत बनाउनुअघि अवधारणा कसरी विकास भयो ?
मैले सुरुवात गर्दा फूलमायाजस्ता पात्र नभेटेको होइन । जो गाउँबाट आए र केही संगतले उनीहरुको जीवन, आधुनिकता, लवाइखवाइ अचानक बदलिएको देख्दा सुरुमा म पनि कन्फ्युज भएँ, मैले पनि जज् गरेँ ती पात्रहरुलाई । यो गलत हो कि सही हो कि । आजको दिनमा पनि म एउटा कुरामा क्लियर हुन सकेको छैन कि त्यसरी कसैको संगत र प्रायोजनले परिवर्तित हुनु कति सहि, कति गलत भन्नु तपाईं हामी कोही पनि स्पष्ट छैनौं । त्यो समीक्षाको पाटो छँदैछ ।
तर, मैले कुनै महिला चरित्रलाई उठाइरहँदा उसलाई प्रायोजन गर्ने मानिसप्रति प्रश्न उठाउने कि नउठाउने ? ती पुरुष चरित्रप्रति फर्केर हेर्ने कि नहेर्ने ? कुनै पुरुषले महिलालाई हेरेको छ भने महिलाले पनि त पुरुषलाई जज् गरिरहेको हुन्छ । गीतमा मैले महिला पात्रभन्दा पनि पुरुषको दृष्टिकोणलाई समेट्न खोजेको थिएँ । यहाँनेर चाहिं मैले तीर चलाउन जानिन या मान्छेहरुले गलत बुझे, यतिखेर उल्टो हावा चलिरहेको छ ।
के मनोरञ्जन क्षेत्रमा गीतमा देखाइएकोजस्तै परिस्थिति अहिले पनि विद्यमान छ भन्न खोज्नुभएको हो ?
यो चाहिं सिम्बोलिकरुपमा देखाइएको हो । ऊ चाहिं कलाक्षेत्रमा जान चाहने भनेर देखाइएको हो । अहिले समय बदलिएको छ । फलानो क्षेत्र, ढिस्कानो भन्दा पनि मान्छे व्यक्तिगतरुपमा कत्तिको बौद्धिक छ र कस्तो विचार राख्छ भन्ने कुराले अर्थ राख्छ । यो चाहिँ कला क्षेत्रमा मात्र होइन, हरेक क्षेत्रमा कुदृष्टि राख्ने मान्छेहरु छन्, हरेक क्षेत्रमा फूलमायाहरु छन् भन्ने हिसाबले सिम्बोलिकरुपमा देखाउन खोजिएको हो ।
पृष्ठभूमि तयार गर्नलाई मात्रै राखिएको हो । पीरमा जसरी युद्धको पृष्ठभूमिमा छापामार लडाकुको पृष्ठभूमिमा तयार गरिएको थियो भने यसमा कलाको पृष्ठभूमि तयार गरिएको छ । होइन भने मुद्दालाई हेर्दा यो फिल्म, म्युजिक भिडियो र गीतको मुद्दाभन्दा पनि दृष्टिकोणको मुद्दा हो । पितृसत्तात्मक सोचको मुद्दा हो । महिलाहरुले भोग्नुपरेको हिंसाको मुद्दा हो । यसलाई कमनरुपमा हेर्नुपर्छ भन्ने लाग्छ मलाई ।
तपाईंले पछिल्लो समय रिलिज गरेका गीतहरु विवादमा मुछिएको देखिन्छ । विवाद र चर्चाले तपाईंलाई किन पछ्याउँछन् ?
कला क्षेत्रमा मनोरञ्जन मेरो एउटा पेशा हो । म एकदमै थोरै काम गर्छु । म मनोरञ्जनलाई प्राथमिकता दिन्छु । कि त विचाररहित गीतसंगीत गर्नुपर्याे । प्रस्तुतिकरणको प्रभावकारिता पनि हुनसक्ला । यसलाई सर्जकीय हिसाबले भन्नुपर्दा घमण्ड गरेजस्तो लाग्ला । त्यो चाहिँ म भन्न चाहन्न । मलाई त यो धेरैपटक भनिएको बासी स्टोरी, बलिउडमा त यो एकदमै सस्तो स्टोरी नै हो ।
नेपालमा पनि म्युजिक भिडियोको स्टोरी हेर्नुहुन्छ भने धनी केटा विवाह गरेको जस्तो देखाइन्छ । महिला चरित्रलाई होच्याउने यस्ता खालका दृश्य हाम्रा फिल्म, कथा र म्युजिक भिडियोमा देखाइएका हुन् । दुईटा कुरा हुनसक्छन् –१५ मिनेटको म्युजिक भिडियोमा गम्भीर विषय घुसाउनु र अर्को चाहिँ –त्यसको प्रस्तुतिकरणको प्रभावकारिता । मेरो नियतले यसलाई विवादित बनाउँछु भन्ने छैन । सर्जकीय हिसाबले धेरै भ्यूअर्स जाओस् र चर्चा होस् भन्ने लोभ हुन्छ नै ।
कतिपयले कलामा अश्लिलता मिसियो भन्छन् नि ?
कथा र पात्रलाई स्पष्ट पार्न त्यहाँ केही दृश्य राखिएका छन् । तर, हेर्नै नहुने भन्ने दृश्य छैनन् । म यस कुरामा एकदमै सचेत छु । म अत्यन्तै पारिवारिक पृष्ठभूमिको कलाकार हुँ । युट्युवजस्तो खुला प्लेटफर्ममा राख्दा र हेर्दा कसैलाई नराम्रो नहोस् है भन्ने कुरामा म एकदमै सचेत छु । त्यसरी नै हामीले कलात्मकरुपमा प्रस्तुत गरेका छौं ।
विरोध गर्नेहरुलाई के भन्न चाहनुहुन्छ ?
विरोधको लागि विरोध गर्नेलाई त के नै भन्न सकिन्छ र तर कलालाई यसरी निरुत्साहित भन्ने हो । अर्को कुरा धेरै जनाले के बुझ्नुभएको छ भने यो प्रकाश सपुतको दृष्टिकोण हो । उसले चाहिँ महिलाहरुलाई कमजोर नै हुन्छन् र उसको चेतना त्यत्ति नै रहेछ भनेर जसले मेरो चेतना माथि प्रश्न गरिरहनुभएको छ, म उहाँहरुको कला चेतनालाई प्रतिप्रश्न गर्न चाहन्छु । तपाईंले राम्रोसँँग म्युजिक भिडियो हेर्नुभएको छ ?
कथालाई राम्रोसँग हेर्नुभएको छ ? पात्रहरुलाई राम्रोसँग हेर्नुभएको छ ? तिमीलाई झुम्काना कसले किन्दियो भनेर सोध्ने प्रकाश सपुतले हो कि पितृसत्तात्मक सोच राख्ने पात्रले हो ? जसले आफैले म तिम्रो सपना पूरा गर्दिन्छु भनेर लिएर आएको चेली समान युवतीलाई उसले जबर्जस्ती उपभोग गरेर उसैको परिवर्तन देख्न नसकेर उसको डाहले प्रतिप्रश्न गर्न थाल्छ, उसको चरित्रमाथि शंका गर्न थाल्छ, त्यो पात्रलाई हामीले केलाउने हो कि प्रकाश सपुतको चेतना र दृष्टिकोणलाई हामीले प्रश्न गर्ने हो ?
यो विषयमा म लामो वहस गर्न सक्छु । मैले निर्माण गरेका चरित्र र पात्र गलत छ भने समीक्षा गरौं । कला, निर्देशनको हिसाबले मैले उठाएका पात्रहरु सहि छन् कि छैनन भन्ने कुरामा आत्मसमीक्षा गर्न तयार छु । तर, मेरो चेतना र दृष्टिकोणमाथि जुन प्रश्न गरिएको छ, उनीहरुले त्यहाँ भएका पात्रहरुलाई हेरेकै छैनन् । त्यहाँ भएका पुरुष पात्रहरुलाई केलाएकै छैनन् । त्यहाँ उठाइएका विषयलाई हेरेकै छैनन् । सरसर्ती एउटा महिलालाई देहब्यापारमा मात्र लाग्ने भनेर मेरो चेतनामाथि प्रश्न उठाइरहनुभएको छ । तर, हामीले महिलाको नैतिकता र चरित्रमाथि औंला उठाउने पुरुषलाई देखेकै छैनौं । जहिले पनि यो विषयान्तर हुने गरेको छ ।