काठमाडौं : काठमाडौंका रसिब जारीले छैटौं राष्ट्रिय मुवाँथाई प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष ८५ केजी तौल समूहमा काठमाडौंकै साज्ञन श्रेष्ठलाई पराजित गर्दै रसिबले उपाधि जितेका हुन् ।
यसैगरी पुरुष ७५ केजी तौल समूहमा ललितपुरका समिर देसारले पहिलो स्थान हात पारे । उनले सिन्धुपाल्चोकका राजेश रायमाझीलाई पराजित गरे । सल्यानका राजेश कवारले तेस्रो स्थान हात पारे । ७० केजीमा तेह्रथुमका रोनेश सुब्बा पहिलो, कास्कीका सतिश लिम्बू दोस्रो, ओखलढुंगाका तेन्जिङ शेर्पा र दाङ नारायण श्रेष्ठ तेस्रो भए ।

पुरुषकै ६५ केजीमा तेह्रथुमका सुजन लिम्बू, सर्लाहीका विश्व लामा, दोलखाका सबिर श्रेष्ठ र एपीएफका पेम्बाछिरिङ लामाले क्रमशः स्वर्ण, रजत र कांस्य पदक जिते । ६० केजीमा काठमाडौंका करण वज्राचार्य पहिलो, सर्लाहीका सौरभ बस्नेत दोस्रो, एपीएफका अजित महर्जन र कास्कीका ज्ञानेन्द्र सिंह तेस्रो भए । ५५ केजीमा सर्लाहीका धमेन्द्र रामले स्वर्ण पदक जिते । उनले चितवनका विवेक घिमिरेलाई पाखा लगाए । रामेछापका मिम्पा तामाङ र दार्चुलाका तेजसिंह शेरले कांस्यमा चित्त बुझाए । यस्तै ५० केजी तौल समूहमा रोल्पाका अनिश बुढामगर, रामेछापका योमन मोक्तान, सर्लाहीका राहुल सिंह र सिन्धुपाल्चोकका निमा स्यान्बोले पहिलो, दोस्रो र तेस्रो स्थान हात पारे ।

यसैगरी महिला ५० केजीमा ललितपुरकी रीना माझी पहिलो, एनआरएनएकी परिका बतास दोस्रो, नवलपरासीकी मनिषा पुलामी मगर र काठमाडौंकी तेजीमाया गुरुङ तेस्रो भए । यस्तै महिलाकै ५५ केजीमा एनआरएनएकी प्राप्ति बतासले स्वर्ण पदक जितिन् । उनले नवलपुरकी सुष्मा चौधरीलाई पराजित गरिन् । उदयपुरकी भारती मगर र मोरङकी आस्था राई तेस्रो भए ।
विजेतालाई बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तान, काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले पुरस्कार प्रदान गरे ।

नेपालमाला
