काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको छ । उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको हो ।
‘हामीले सर्वोच्च अदालतमा निवेदन दर्ता गरिसकेका छौं’, महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले भने, ‘ हामीले उच्च अदालतको आदेश बदर हुनुपर्ने र आरोपितलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखेका छौं ।’
एक नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध सन्दीपले दिएको निवेदनमा उच्च अदालत पाटनले २० लाख रुपैयाँमा छाड्ने आदेश दिएको थियो । तर उच्च अदालततको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्चमा पुगेको हो । लामिछानेविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमै विचाराधीन अवस्थामा छ ।
गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप पुस १९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए । एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ । सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

नेपालमाला
