काठमाडौं : काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराए ।
जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ । जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:३५ बजे उडेको नाइन एन- एएनसी उक्त जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट थिए । यती एयरलाइन्स स्रोतका अनुसार एस हुन्चु र ओए मगर परिचारिका थिए ।
जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो । दुर्घटनामा भएको मानवीय क्षतिबारे केही खुलेको छैन । वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो उठेको छ । स्थानीय, सुरक्षाकर्मीलगायत घटनास्थलमा आगो निभाउने प्रयासमा लागेका छन् ।

नेपालमाला
