काठमाडौं : माइती नेपालकी सविना श्रेष्ठले केयर्स पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् । नेपाल तेक्वान्दो संघको आयोजनामा शनिबार भएको महिला १८ वर्षमाथिको स्पर्धामा सविनाले स्वर्ण पदक जितेकी हुन् । माइती नेपालकै प्रश्ना खड्काले रजत तथा सस्मिता केसी र सिर्जना जैशीले कांस्य पदक जिते ।
यू–१० छात्रातर्फ पीए नेपालकी ज्ञानु रोकाय र इशानी ब्लोनले पहिलो स्थान हात पारे । यस्तै माइती नेपालकी अञ्जिता तामाङ र क्रिस्टिना तामाङले रजत, माइती नेपालका डोल्मा तामाङ, दुर्गा तिमिल्सना, ईसीडीसीका सिमना तामाङ र शोभा डोल्मा तामाङले कांस्य पदक जिते । यू–१० छात्रमा पीए नेपालका डोनाल रोकाय, चिराग सिंह र रौनाङ्ज्यू देवानले क्रमशः स्वर्ण, रजत र कांस्य जिते । छात्राको १०–१२ वर्षको उमेर समूहमा पीए नेपालका सनिशा तामाङ पहिलो, माइती नेपालकी दीपिशा गन्दर्भ दोस्रो तथा पीए नेपालकी दुर्गा तामाङ र ईसीडीसीकी भगवती जैशी तेस्रो भए ।
यही उमेर समूहको छात्रतर्फ पीए नेपालका अधि परियारले स्वर्ण, पीए नेपालकै प्रतीक कार्कीले रजत, पीए नेपालकै राजेश रोकाय र रोहन मण्डलले कांस्य पदक हात पारे । छात्राको १२–१४ वर्षको उमेर समूहमा माइती नेपालकीयुना भुजेल पहिलो, माइती नेपालकै बिनिसा महर्जन दोस्रो तथा माइती नेपालकी भीममाया तामाङ र ईसीडीसीकी लक्ष्मी रोकाय तेस्रो भए । यही समूहको छात्रमा पीए नेपालका इशान ब्लोन, रोशन मण्डल र सागर तामाङले पहिलो, दोस्रो र तेस्रो स्थान हात पारे ।
छात्राको १४–१७ वर्ष उमेर समूहमा माइती नेपालकी सलिना श्रेष्ठ पहिलो, माइती नेपालकै शिक्षा ढकाल दोस्रो एवं माइती नेपालकै पूजा गुरुङ र अनिसा तामाङ तेस्रो भए । छात्रतर्फ पीए नेपालका सोनम तामाङ, अमृत लामा र सुविन्द्र राना मगरले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हात पारे ।
विजेतालाई बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जन, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्द र महासचिव दीपराज गुरुङलगायतले पुरस्कार प्रदान गरेका थिए । विश्व तेक्वान्दो महासंघको नीति तथा कार्यक्रम अनुसार नेपाल तेक्वान्दो संघले केयर्स च्याम्पियनसिप आयोजना गर्दै आएको हो । च्याम्पियनसिपको यो चौथो कार्यक्रम हो । यस वर्ष यो कार्यक्रममा दुई सय खेलाडी समावेश गरिएको नेपाल तेक्वान्दो महासंघका महासचिव दीपराज गुरुङले जानकारी दिए ।