काठमाडौं : विघठित नेपाल तेक्वान्दो संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकर्मीको भविष्य अनिश्चित बनाएर सम्पूर्ण खेल क्षेत्रलाई नै अन्योलग्रस्त बनाउन लागिपरेको आरोप लगाएको छ । नेपाल तेक्वान्दो संघको दर्ता खारेजीको विरोधमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको संघले सोमबार पत्रकार सम्मेलन गर्दै आफ्नो ४० वर्षे गौरवमय इतिहास, यसले दिएको सफलता र योगदानलाई मटियामेट बनाउने काम गरेको आरोप लगाएको हो ।
‘नेपाल तेक्वान्दो संघको दर्ता खारेज गरी तथाकथित नेपाल तेक्वान्दो महासंघ गठन गरेकोप्रति नेपाल तेक्वान्दो संघ र मुलुकभरका खेलाडी तथा प्रशिक्षक दुखी भएका छौं । राखेपको यो नालायकीपनको घोर भत्र्सना गर्दछौं । राखेपको यो असंवैधानिक कदमबाट खेलाडी, प्रशिक्षक, डोजाङ प्रमुख, खेल पदाधिकारी, खेलकर्मीको भविष्य अनिश्चित बनाई देशको खेल क्षेत्रलाई अन्योलग्रस्त बनाएको छ’, संघको विज्ञप्तिमा भनिएको छ ।
विघठित नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले गौरवमय इतिहास बोकेको संघको दर्ता खारेज गर्ने अधिकार राखेपलाई नभएको भन्दै संघको आधिकारिकताका लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताए । ‘हामी अहिले आफ्नो अस्तित्व रक्षाको लडाइँमा होमिएका छौं । संस्थाको आधिकारिकताका लागि जस्तोसुकै कदम चाल्न पनि तयार छौं’, महासचिव गुरुङले भने, ‘ उद्देश्य र दर्ता प्रक्रिया नै फरक भएका दुई वटा संघलाई जबरजस्ती मिलाउन खोज्ने काम भएको छ । दर्ता खारेजी, संघ गठन र पुनर्गठनको अधिकार राखेपलाई छैन ।’ राखेपले नियमन गर्ने नाममा खेल संघ, पदाधिकारी, खेलाडी, प्रशिक्षकलाई संधैभरि धाकधम्की दिने, षड्यन्त्रपूर्ण क्रियाकलाप गरी विधिविधान विपरीत मनपरी ढंगले काम गरिरहेको उनले आरोप लगाए । ‘नेपाल तेक्वान्दो संघ मात्र नभई अन्य संघहरुको दर्ता खारेजी गरी नयाँ संघ गठन गरी मुलुकको ऐन र कानुनको धज्जी उडाएको छ’, उनले भने, ‘देशको खेलकुद विकासका लागि स्वयंमसेवक रुपमा अहोरात्र खट्दै आएका खेल पदाधिकारी एवं खेलकर्मीको मानमर्दन गर्ने र मनोबल गिराएर खेल संघहरुलाई आफ्नो काबुमा पार्ने काम गर्ने दुस्प्रयास गर्दै आएको छ ।’
उच्च अदालतको कारण देखाउ आदेश
नेपाल तेक्वान्दो संघले दर्ता खारेजीविरुद्ध उच्च अदालत पाटनमा दायर गरेको रिटमा कारण देखाउ आदेश जारी भएको छ । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणाले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्सहित पाँच संस्थालाई विपक्षी बनाएर शुक्रबार दायर गरेको रिटमा न्यायाधीश राज्यलक्ष्मी वज्राचार्यको एकल इजलासले विपक्षीसँग लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश दिएको हो ।
अध्यक्ष राणाले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नवगठित नेपाल तेक्वान्दो महासंघ, राखेपकै संघसंस्था समन्वय शाखा र सो शाखाका प्रमुख चन्द्रकुमार राईलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।
राखेपले गत पुस ५ गते नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघको दर्ता खारेज गरी नेपाल तेक्वान्दो महासंघ गठन गरेको थियो । यस्तै नेपाल उसु महासंघ र शारीरिक सुगठन संघको कार्यसमिति पनि विघटन गरी पुनर्गठन गरेको थियो । गत मंसिर २४ गते निवर्तमान खेलकुदमन्त्री महेश्वरजंग गहतराजको मन्त्रीस्तरीय निर्णयबाट तेक्वान्दोसहित तीनवटा खेल संघको दर्ता खारेजी र पुनर्गठन गरेको थियो ।

नेपालमाला
