काठमाडौं : नेपालीमा एउटा उखान चर्चित छ, कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर । यो उखानलाई चरितार्थ गरेको छ, नवगठित नेपाल तेक्वान्दो महासंघले । राष्ट्रिय खेलकुद परिषद्ले गत कार्तिक २४ गतेको मन्त्रीस्तरीय निर्णय भन्दै मंगलबार नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघ विघटन गर्दै नेपाल तेक्वान्दो महासंघको तदर्थ कमिटी गठन गरेको थियो । तदर्थ कमिटीलाई परिषद्ले आगामी तीन महिनाभित्र साधारणसभा तथा निर्वाचन गर्ने म्यान्डेट दिएको छ ।
तर, महासंघ भने माथिको उखान चरितार्थ गर्दै राष्ट्रिय खेलकुद परिषद्ले दिएको म्यान्डेटलाई लत्याउँदै भत्ता बाँड्ने र सहयोग उठाउनेजस्ता काममा लागेको छ । पुस ६ गते महासंघका अध्यक्ष प्रदीप जोशीको अध्यक्षतामा बसेको बैठकले रातो पेटीसम्मको ग्रेडिङ सम्बन्धित डोजाङ प्रमुखले लिने निर्णय गरेको थियो । जबकी विघटनमा परेको नेपाल तेक्वान्दो संघले ब्ल्याकबेल्ट (कालोपेटी) सम्मको ग्रेडिङ सम्बन्धित डोजाङ प्रमुखले नै लिन पाउने व्यवस्था गरेको थियो ।
यसैगरी छनोट चरणमार्फत ओलम्पिकमा सहभागी संगीना बैद्य र दीपक विष्टलाई मासिक पाँच हजार भत्ता दिने निर्णय पनि महासंघको बैठकले गरेको छ । महासंघको पहिलो बैठकको यो निर्णय नेपाल तेक्वान्दो संघ विघटनमा महत्वपूर्ण भूमिका खेलेका दीपक विष्टको चाकडीका लागि मात्रै गरिएको हो भन्ने स्पष्ट हुन्छ । संगीना र दीपक नेपालका कीर्तिमानी खेलाडी हुन् । उनीहरुले नेपाली खेलकुदमा पु¥याएको योगदान महत्वपूर्ण छ । उनीहरुको योगदानको उच्च मूल्यांकन गर्दै सरकारले दुवै जनालाई प्रशिक्षकमा नियुक्त गरेको छ । राखेपले ओलम्पियनहरुलाई दिँदै आएको मासिक भत्ता पनि उनीहरुले पाइरहेका छन् । यस बाहेक सरकारले समय समयमा प्रोत्साहन भत्ताबाट पनि सम्मान गर्दै आएको छ । त्यसैले मासिक पाँच हजार भत्ता संगीना र दीपकका लागि ठूलो रकम नहुन सक्छ ।

यही रकम हालै विश्व पारा तेक्वान्दो ग्रान्डपिक्स जी–टेनमा स्वर्ण पदक जितेकी सिर्जना घिसिङ र पारालम्पिकमा दुई फाइट जितेकी पलेसा गोबद्र्धनका लागि ठूलो हुन्थ्यो । आगामी विश्वस्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न उत्साह बढाउने काम गथ्र्यो । तर, तेक्वान्दोको विकास र विस्तार गर्न तदर्थ कमिटीमा बसेकाहरुले त्यसतर्फ नजर लगाउन सकेनन् । किनभने सिर्जना र पलेसा नेपाल तेक्वान्दो संघ विघटन गराउन हिंडेनन् । महासंघका पदाधिकारीलाई चाकडी पनि गरेनन् । त्यही कारण उनीहरु कसैको नजरमै परेनन् । यो काम मात्रै गरेको भए पनि महासंघप्रति सहानुभूति हुन्थ्यो होला । तर, महासंघ यसमा पनि चुकेको छ ।
महासंघको पहिलो बैठकले कैलाली जिल्ला खेलकुद विकास समितिमा कार्यरत तेक्वान्दो प्रशिक्षक शेरबहादुर सिंहको उपचारका लागि आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ । बिरामी परेका प्रशिक्षकका लागि सहयोग गर्ने निर्णय स्वागतयोग्य भए पनि महासंघसँग अहिले कुनै बजेट छैन । उनीहरुलाई न राखेपले आर्थिक सहयोग उपलब्ध गराएको छ, न त विघठित नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघको खाताको रकम नै चलाउन सक्ने अवस्था छ । यस्तो अवस्थामा कीर्तिमानी खेलाडीलाई मासिक भत्ता र बिरामी प्रशिक्षकलाई आर्थिक सहयोग गर्ने महासंघको दुवै निर्णय हास्यास्पद देखिएको छ ।
महासंघको पहिलो बैठकले युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिनुका साथै साधारणसभा तथा निर्वाचनका विषयमा निर्णय गर्नुपर्ने थियो । पालिकादेखि जिल्ला तथा प्रदेश एवं महासंघको साधारणसभा र अधिवेशनको तयारीका विषयमा छलफल र निर्णय हुनुपथ्र्यो । विभिन्न समितिहरु गठन हुनुपथ्र्यो । तर, ‘गलत मनसायबाट गठन भएको संस्थाले पनि गलत नै काम गर्छ’ भन्ने कुरालाई महासंघको पहिलो बैठकको निर्णयले गरेको छ ।


नेपालमाला
