काठमाडौं : नेपाल बक्सिङ संघ करिब सात वर्षदेखि विवादकै घेरामा अल्झिरह्यो । अध्यक्ष राम अवालेले विधान विपरित परिवार जसरी संघ सञ्चालन गरेको भन्दै बहुसंख्यक पदाधिकारीले विरोध जनाइरहे । तर, ‘सेटिङ’मा खप्पिस अध्यक्ष राम र श्याम अवालेले राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालयमा आफू अनुकुल वातावरण बनाइरहे । परिषद्का कर्मचारीलाई उपहार बाँड्नेदेखि मन्त्री र उनका आसेपासेलाई विदेश सयर गराउनेसम्मको काम गरेर आफ्नो सत्ता टिकाइराखे ।
यसबीचमा अध्यक्ष राम अवाले र उनका सहोदर भाइ श्याम अवालेका काला कर्तुतका शृंखलाका निवेदन नेपाली खेलकुदको नियमायक निकाय राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धिकरण आयोगसम्म पुग्यो । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्मा राम तथा श्याम अवालेले धपाएका पदाधिकारीको निवेदनको चाङै लाग्यो । मन्त्रीदेखि सदस्यसचिवसम्मलाई गुनासोका पोकै सुनाए । तर, सात वर्षको अवधिमा कहिँकतैबाट पार लागेन । विपक्षीहरु जहाँजहाँ निवेदन बुझाउँथे, राम अवाले र उनका आसेपासे त्यहाँत्यहाँ जाल बिछ्याउन पुगिहाल्थे । उनीहरु साम, दाम, दण्ड, भेद सबै उपाय अवलम्वन गर्थे । त्यही कारण विपक्षीका निवेदनले मन्त्रालय र राखेपको दराज नै ढाकिए पनि त्यसलाई रद्दीको टोकरीमा फाल्ने काम मात्रै भयो । त्यो विषयमा कहिल्यै कारवाही अगाडि बढेन । यतिसम्म कि राखेप सदस्यसचिवसँगको छलफलमा राम अवालेले विपक्षीलाई समेटेर अगाडि बढ्ने प्रतिवद्धता जनाए पनि त्यो प्रतिवद्धतालाई कहिल्यै पूरा गरेनन् । सदस्यसचिवसँग पहिल्यै सेटिङ गरेर ‘म पिट्छु तँ रोएकोजस्तो गर’ भन्ने उखानलाई सदस्यसचिव र राम अवालेले अवलम्वन गर्दै आए ।

त्यसैले महासचिव÷कोषाध्यक्ष समूह र अध्यक्ष राम अवाले समूहबीच जहिले पनि ‘पानी बाराबार’को अवस्था सिर्जना भइरह्यो । महासचिव÷कोषाध्यक्ष समूहले आफ्नो अधिकारको कुरा उठाउने र अध्यक्ष राम अवालेले उनीहरुलाई पेलेरै जाने काम गरिरहे । तर, गत मंसिर १८ गते दुई विपरीत ध्रुवको एक्कासी ‘मिलन’ भएको भन्दै नेपाल बक्सिङ संघको फेसबुक पेजमा तस्बिर र स्टाटस राखियो । बेलुका राष्ट्रिय खेलकुद परिषद्को प्रचारप्रसार शाखामार्फत यही विषयको समाचार संप्रेशित पनि गरियो ।
महासचिव÷कोषाध्यक्ष समूहले राम अवालेबाट भएको विधानविरीतको काम, आर्थिक अनियमितता र नातावाद कृपावादका विषयलाई जोडदार रुपमा उठाउँदै आएका थिए । संघलाई अनिर्णयको बन्दी बनाउने राम अवाले नै भएकाले उनको पदच्युत नै मुख्य एजेन्डा थियो । तर, एकाएक दुई ध्रुवको मिलन कसरी भयो भन्नेमा सबैजना आश्चर्यचकित छन् । धेरैले यो मिलनलाई ‘अप्राकृतिक’ भएको भन्दै जुनसुकै बेला पनि दरार आउन सक्ने दाबी गरेका छन् । ‘यो मिलन अस्वभाविक मात्रै होइन, ‘अप्राकृतिक’ पनि छ । यस्तो मिलन जुनसुकै बेला पनि टुट्न सक्छ’, बक्सिङका एक पूर्व खेलाडी भन्छन् ।
बक्सिङ खेलाडी म्याक्स बस्नेतले त पछिल्लो मिलनलाई ‘बाँडीचुँडी खान र विदेश सयर गर्न’का लागि भएको भन्दै विरोध जनाएका छन् । ‘यो बैठक केका लागि ? केवल आफुमात्र खानलाई हो र वैदेशिक भ्रमण,आफ्नो आसेपासे र राजनीति गर्ने थलो को लागि यो बैठक गरिएको हो हामी भ्रममा नपरौ । उहाँहरुले कहिले पनि खेलाडीहरु को हक हित लागि काम गर्नभाको छ र ? र गर्ने वाला पनि छैन, केवल राजनीतिक, खेलाडीहरुलाई खेल को नाम मा खेलाडीको रगत चुस्ने अनि त्यसको लागि मात्र यो बैठको हो’, सामाजिक सञ्जालमा स्टाटस लेख्दै विरोध जनाएका छन् ।

नेपालमाला
