गोपाल भण्डारी, यो नाम नेपाली खेलकुद क्षेत्रमा मात्रै होइन, सात समुन्द्र पारीका देशमा पनि परिचित छ । चाहे नेपालमा रहँदा होस् या परदेशमा, उनी खेलकुद (तेक्वान्दो) बाट कहिले पनि टाढा हुन सकेनन् । २०४३ साल पुसमा सल्यानको बरलामा जन्मिएका गोपालले सानै उमेरमा तेक्वान्दो खेल्न थालेका हुन् । उनले तेक्वान्दो सिक्न निकै कष्ट सहे । उनी सिक्ने डोजाङ घरबाट एक घण्टा टाढा थियो । उनी खाली खुट्टै डोजाङ पुग्थे । डोजाङको पनि कुनै भवन थिएन खुला चौरमा खाली खुट्टै प्रशिक्षण गर्नुपथ्र्यो । विद्यालय शिक्षा पूरा गरेपछि उच्च शिक्षाका लागि उनी काठमाडौं गए । त्यहाँ उनले काठमाडौं तेक्वान्दो डोजाङमा पुनः प्रशिक्षण सुरु गरे । स्नातक तहको पढाइसँगै उनले खेलकुदलाई पनि अगाडि बढाए । उनले लामो समय त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको केन्द्रीय डोजाङमा प्रशिक्षण गरे । काठमाडौं बसाइका क्रममा गोपालले जिल्लास्तरीय, उपत्यकास्तरीयलगायत थुप्रै प्रतियोगितामा सहभागिता पनि जनाए । जिल्लास्तरमा उत्कृष्ट प्रदर्शन गरेका उनी राष्ट्रिय टोलीको प्रशिक्षणमा पनि सहभागी भएका थिए ।
गोपाल खेलकुदकै क्रममा विभिन्न देशमा पुगे । त्यहाँ उनले राष्ट्रका लागि विभिन्न पदक जिते । सन् २०१६ मा उनले दक्षिण कोरियाबाट मास्टर्स कोर्स उतीर्ण गरे । खेलकुदकै सिलसिलामा मकाउ बस्दा गोपालले त्यहाँ पनि तेक्वान्दो प्रशिक्षणलाई निरन्तर रुपमा अगाडि बढाए । स्थानीय खेलाडीलाई नियमित प्रशिक्षणसँगै विभिन्न विद्यालय, कलेज तथा कर्पोरेट क्षेत्रका व्यक्तिलाई ‘सेल्फ डिफेन्स’को प्रशिक्षण पनि गराए । उनी मकाउको याङमिङ डोजाङमा तेक्वान्दोको नियमित प्रशिक्षण गराउँथे र मकाउ तेक्वान्दो संघको विदेश विभागको जिम्मेवारी पनि समहालेका थिए । नेपाल फर्किएपछि उनले सीतापाइला डोजाङमा प्रशिक्षण सुरु गरे । उनले सीतापाइला तेक्वान्दो डोजाङका खेलाडीलाई लामो प्रशिक्षण गराए । उनको प्रशिक्षणमा सीतापाइला (नेपाल) का खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सफल भए ।

सीतापाइलाका खेलाडीले घरेलु प्रतियोगितासँगै मलेसिया, अस्ट्रेलिया, मकाउ, हङकङ, भियतनाम, यूएईलगायतका मुलुकमा पनि उत्कृष्ट नतिजा दिन सफल भए । उनकै प्रशिक्षणमा सीतापाइलाका शैलेश गिरीले युथ ओलम्पिक क्वालिफाइङमा प्रतिस्पर्धा गरेका थिए । सन् २०२१ मा गोपाल प्रशिक्षणका लागि अमेरिका पुगे । अमेरिकामा रहँदा मास्टर्स रिफ्रेसर्स र एक्जामिनर कोर्स उतीर्ण गरे । त्यही क्रममा उनले फोर्थवर्थ इन्टरनेसनल च्याम्पियनसिपमा स्वर्ण पदक जिते । यस्तै नेसनल क्यापिटल ओपन तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जिते । यसैगरी मेट्रो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा अफिसियल रेफ्री जर्जको भूमिका निर्वाह गरे । अमेरिका रहँदा उनले तेक्वान्दोको मास्टर्स लिडरसिप ट्रेनिङ क्याम्पमा सहभागी भएर स्वदेश फर्किए ।
नेपाल आएपछि उनले फेरि सीतापाइला डोजाङमा पुनः प्रशिक्षण सुरु गरे । त्यसक्रममा सीतापाइला डोजाङले घरेलु प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन सफल भयो । केही समय नेपाल बसेपछि सन् २०२२ मा अन्तर्राष्ट्रिय प्रतियोगिता कुकिवान कपमा अफिसियल रेफ्रीजर्जको भूमिका निर्वाह गर्न अमेरिका पुगे । यसैगरी त्यहीं रहँदा सन् २०२२ सेप्टेम्बर १ देखि ७ तारिखसम्म वल्र्ड तेक्वान्दोले सञ्चालन गरेको लेभल वान प्रशिक्षक कोर्स उतीर्ण गरे ।

गोपाल तेक्वान्दोबाट कहिले पनि टाढा हुन नसक्ने बताउँछन् । सफल खेलाडीको पहिचान बनाएका उनी प्रशिक्षणमा पनि आफूलाई अब्बल सावित गर्न चाहन्छन् र आफ्ना खेलाडीले ओलम्पिकमा प्रतिस्पर्धा गरेको हेर्न चाहन्छन् । ‘तेक्वान्दो मेरो जीवनको अभिन्न अंग बनिसकेको छ । यसबाट चाहेर पनि टाढा हुन सक्तिनँ’, उनी भन्छन्, ‘राम्रा खेलाडी उत्पादनसँगै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अवसर उपलब्ध गराउने काममा निरन्तर रुपमा सक्रिय भइरहन्छु ।’ उनी ओलम्पिकमा पदक जित्ने खेलाडी उत्पादन गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताउँछन् ।

नेपालमाला
