दोहा : फिफा विश्वकप फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा नेदरल्यान्ड्सले महत्वपूर्ण जित निकालेको छ । कतारको राजधानी दोहास्थित अल थुमामा रंगशालामा सोमबार राति भएको खेलमा नेदरल्यान्ड्सले अफ्रिकी प्रतिद्वन्द्वी सेनेगललाई २–० गोलले पराजित गरेको हो । नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पो र डाभी क्लासेनले एक÷एक गोल गरेका थिए । कोडीले खेलको ८४औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । फ्रेन्की डी जोङको पासलाई सदुपयोग गर्दै उनले उत्कृष्ट गोल गरेका थिए । त्यसपछि इन्जुरी समयको अन्तिममा डाभी क्लासेनले गोल गर्दै नेदरल्यान्ड्सलाई २–० को जित दिलाएका थिए ।
पहिलो हाफमा नेदरल्यान्ड्स र सेनेगलले गोलरहित बराबरी खेलेका थिए । निकै प्रतिस्पर्धात्मक पहिलो हाफमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् । सेनेगल र नेदरल्यान्ड्सबीच पहिलो पटक प्रतिस्पर्धा भएको हो । यसअघि एकअर्काविरुद्ध नखेलेका कारण पनि दुवै टोलीले जोखिम मोल्न नचाहँदा गोल हुन समय लागेको थियो । सेनेगलले ४–३–३ को फरम्याटमा खेलेको थियो भने नेदरल्यान्ड्स ३–४–१–२ को रणनीतिमा मैदान उत्रिएको थियो ।
आफ्ना महत्वपूर्ण खेलाडी साडियो माने घाइते भएका कारण पनि सेनेगलले युरोपियन प्रतिद्वन्द्वीविरुद्ध प्रभावशाली प्रदर्शन गर्न सकेन । सेनेगलका कप्तानसमेत रहेका माने चोटका कारण विश्वकपबाट बाहिरिएपछि उनको अभाव टोलीमा खड्किएको हो । अब्डोउ डिआलो चोटमुक्त भएर टोलीमा फर्किए पनि उनले पूरै समय खेल्न सकेनन् । उनलाई ६२औं मिनेटमा स्माइल जाकोब्सले स्थानान्तरण गरेका थिए ।
नेदरल्यान्ड्स पनि आफ्ना केही महत्वपूर्ण घाइते भएका कारण समस्यामा छ । उसका महत्वपूर्ण खेलाडी मेम्फिस डिपे दोस्रो हाफमा मात्रै मैदान उत्रिएका थिए । ६२औं मिनेटमा उनी भिन्सेन्ट जेन्सेनको स्थानमा मैदान प्रवेश गरेका थिए । ह्यामस्ट्रिङको चोटका कारण उनी पूर्णरुपमा ठीक हुन सकेका छैनन् । यस्तै मिडफिल्डर डेन्जल डुमफ्रायसल पहिलो रोजाईकै रुपमा मैदान प्रवेश गरे पनि उनले सोचे अनुरुप खेल्न सकेनन् । चोटकै कारण मार्टेन्स डी रोनले खेल्न सकेनन् । त्यसैले नेदरल्यान्ड्का प्रशिक्षक लुइस भान गाल शुक्रबार इक्वेडरविरुद्धको खेलमा आफ्ना सबै खेलाडी फिट हुने आशमा छन् ।
Previous Article
इङ्ल्यान्डको प्रभावशाली जित
Next Article

नेपालमाला
