काठमाडौं : सट्टेबाजी गरेको आरोपमा प्रहरीले कीर्तिपुरको त्रिवि क्रिकेट मैदानबाटै केहीलाई पक्राउ गरेको छ । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको खेलमा बल टु बल सट्टेबाजी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको र यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
क्रिक इन्फो र टेलिभिजन प्रत्यक्ष प्रसारणमा कम्तिमा पनि ३ सेकेन्ड ढिला हुँदा उनीहरुले त्यसको फाइदा लिन मैदानमै बसेर बसेर बल टु बल एपको माध्यमबाट सट्टेबाजी गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
ब्युरोका निर्देशक उत्तम सुवेदीले क्रिकेट मैदानबाट धेरै जना पक्राउ गरेको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जानकारी दिए । ‘पक्राउ पर्ने धेरै छन् । उनीहरुको संलग्नताबारे अनुसन्धान गरेर निर्दोष देखिएकालाई छाडिने छ ।’ पक्राउ पर्नेको साथबाट मोबाइल र नगद बरामद भएको प्रहरीले जनाएको छ । पहिलो खेलबाट नै शंकास्पद देखिएका अनुहारहरुलाई निगरानीमा राखिएको र शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।