ब्युनर्सआयर्स : अर्जेन्टिनाका कप्तान लियोनल मेसीले ब्राजिल, फ्रान्स र इङ्ल्यान्ड विश्वकप २०२२ को उपाधि जित्ने प्रमुख दाबेदार रहेको बताएका छन् । मेसीले आफ्नो पहिलो विश्वकप उपाधि उचाल्ने अभियानमा यी तीन राष्ट्रलाई सबैभन्दा चुनौतीका रुपमा देखेका छन् ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) का ३५ वर्षीय फरवार्ड कतारमा विश्वकप जित्दै खेल करियरलाई सुखद बनाउन र अर्जेन्टिनालाई १९८६ पछि पहिलो ट्रफी जिताउन लागि पर्नेछन् । ‘जब हामी दाबेदारबारे कुरा गर्छौं । हामी सधैं एउटै टिमका बारेका कुरा गर्छौं’, साउथ अमेरिका फेडेरेसनसँगको कुराकानीमा मेसीले भने, ‘मैले कुनै टिमलाई माथि राख्नुपर्यो भने मेरो विचारमा ब्राजिल, फ्रान्स र इङ्ल्यान्ड अन्य टिमभन्दा माथि छन् । तर, विश्वकप धेरै कठिन हुन्छ । त्यसैले जे पनि हुन सक्छ ।’
कोपा अमेरिका च्याम्पियन अर्जेन्टिना अन्तर्राष्ट्रिय फुटबलमा ३५ खेलसम्म अपराजित छ । त्यसैले अर्जेन्टिनालाई धेरैले उपाधि दावेदार मान्दै आएका छन् । मेसीको यो अन्तिम विश्वकप हुने उनले बताइसकेका छन् । त्यसैले यस पटक मेसीकै लागि उपाधि जित्न अन्य खेलाडी पनि लागिपरेका छन् । ‘हामी धेरै उत्साहित छौं । हामी राम्रो समूहमा छौं’, मेसीले भने, ‘हामी विश्वकपमा उत्कृष्ट सुरुवात गर्ने योजनामा छौं ।’
विश्वकप फुटबलको उद्घाटन आगामी मंसिर ४ गते अर्थात् नोभेम्बर २० मा कतारमा सुरु हुँदैछ । समूह ‘सी’मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियासँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ । त्यसपछि मेक्सिकोसँग नोभेम्बर २६ र पोल्यान्डसँग नोभेम्बर ३० मा खेल्नेछ ।

नेपालमाला
