काठमाडौं : उच्च अदालत पाटनले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दोका प्रतियोगिता कात्तिक १ गतेसम्म आयोजना नगर्न आदेश दिएको छ । न्यायाधीश धीरबहादुर चन्द र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले युवा तथा खेलकुद मन्त्रालयलाई विपक्षी बनाई राम गोलेलगायतका खेलाडीले दायर गरेको रिटमा कात्तिक १ गतेलाई पेसी तोक्दै मुद्दाको टुंगो नलागेसम्म तेक्वान्दो प्रतियोगिता आयोजना नगर्न आदेश दिएको हो । असोज २८ गतेको संयुक्त इजलासले २०७९ असोज २६ गते जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई कात्तिक १ गतेसम्मका लागि निरन्तरता पनि दिएको छ ।
यसअघि उच्च अदालतले नै राष्ट्रिय तेक्वान्दो युनियनका खेलाडीलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी नगराउन अन्तरिम आदेश दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीश श्यामकाजी प्रधानको एकल इजलासले गत असोज १३ गते छनोट प्रतियोगितामार्फत चयन भएका बागमती प्रदेशका खेलाडीलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी नगराउन असोज २६ गते अन्तरिम आदेश दिएको हो ।
प्रदेश खेलकुद परिषद्ले बागमतीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गत भदौ २० र २१ गते छनोट प्रतियोगितामार्फत आफ्नो प्रदेशका खेलाडी छनोट गरेको थियो । छनोट भएका खेलाडीले नियमित प्रशिक्षण पनि गरेका थिए । तर, प्रदेश खेलकुद परिषद्ले असोज १० गते सूचना प्रकाशित गरी असोज १२ र १३ गते युनियनका खेलाडी छनोट गरेको थियो । प्रदेश खेलकुद परिषद्ले पहिले छनोट भएका खेलाडीलाई बेवास्ता गर्दै युनियनका खेलाडीलाई मात्रै बन्द प्रशिक्षणमा सहभागी गराएको थियो ।
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दो प्रतियोगिता गत शुक्रबारबाट म्याग्दीमा सुरु हुने पूर्व निर्धारित कार्यक्रम थियो । तर, प्रतियोगिता सुरु नहुँदै विवादमा परेको छ । खेलाडीसँगै रेफ्री जर्जका विषयलाई लिएर पनि विवाद बढेको छ । नेपाल तेक्वान्दो संघले पठाएको रेफ्रीजर्जलाई बेवास्ता गर्दै राष्ट्रिय खेलकुद परिषद्ले एकलौटी रुपमा रेफ्रीजर्ज छनोट गरेपछि विवाद बढेको हो ।

यो पनि

नेपालमाला
