काठमाडौं : नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १० मा राजेन्द्रकुमार केसी (राजन) लाई नै टिकट दिएको छ । आइतबार बिहान भएको सहमति अनुरुप प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसले केसीलाई टिकट दिएको हो ।
नेपाली कांग्रेसका तर्फबाट एकल सिफारिस भएका राजन केसी लगातार तेस्रो पटक चुनाव जित्दै ह्याट्रिक गर्ने अभियानमा छन् । पहिलो पटक २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई हराएर चर्चा बटुलेका केसीले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि कम्युनिष्ट गठबन्धनलाई पत्तासाफ पारेका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा रोल्पा र काठमाडौं क्षेत्र नम्बर १० बाट विजयी हुँदै प्रधानमन्त्री बनिसकेका प्रचण्डलाई केसीले २०७० मा करिब सात हजार मतले पछि पारेका थिए । केसीले २० हजार मत ल्याउँदा प्रचण्डले १३ हजार हाराहारीमा मात्रै भोट पाएका थिए ।
२०७० मा ‘म्यान अफ दी इलेक्सन’को उपाधि पाएका केसीले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार नेकपा माओवादीका नेता हितमान शाक्यलाई पराजित गरेका थिए । करिब एक दशकदेखि सांसद रहेका केसी मंसिर ४ को निर्वाचनमा पनि सहज जित निकाल्दै ह्याट्रिक गर्ने अभियानमा छन् । २०७४ को निर्वाचनमा केसीले २४ हजार १९० भोट पाउँदा उनका निकटतम प्रतिस्पर्धी शाक्यले २१ हजार ९०७ मत पाएका थिए ।
विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका केसी २०४६ सालबाट नेपाली कांग्रेसको पूर्णकालीन कार्यकर्ता हुँदै जिल्ला विकास समिति सभापतिसमेत भएर काम गरेका थिए । उनी क्षेत्र नम्बर १० को क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै पार्टीको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका छन् । निरन्तर जनताका माझमा रहेर काम गरेकै कारण उनी काठमाडौं क्षेत्र नम्बर १० का जनतामाझ लोकप्रिय छन् । नेपाली कांग्रेसले लगातार जित्दै आएको यस क्षेत्रको जनमत पनि कांग्रेसकै पक्षमा रहेकाले पहिलेभन्दा यस पटक उनलाई चुनाव जित्न सहज हुने आँकलन गरिएको छ ।
नेकपा एमालेले पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई काठमाडौं क्षेत्र नम्बर १० बाट उठाउने निर्णय गरेको छ । २०६४ को संविधानसभा निर्वाचनमा अत्याधिक मतले जित हासिल गरेका माओवादी अध्यक्ष प्रचण्ड करिब ६ वर्षको अवधिमा एक पटक पनि आफ्नो क्षेत्रमा नआएपछि राजन केसीले स्थानीय उम्मेदवारको वकालत गरेका थिए । आफ्नो निर्वाचन क्षेत्रलाई राम्रोसँग बुझेको र जनतासँग पनि आत्मीय सम्बन्ध रहेका स्थानीय प्रतिनिधिले मात्रै त्यस क्षेत्रको विकास गर्न सक्ने एजेन्डा उनले उठाएका थिए । त्यही एजेन्डा बोकेर नै उनी दुई पटक सांसद भएका छन् । यस पटक पनि केसीको एजेन्डा यही बन्ने देखिएको छ ।
गुल्मीमा जन्मिएका एमाले नेता रामबहादुर थापा ‘बादल’ २०६४ को पहिलो संविधानसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । २०७४ मा राष्ट्रियसभा सदस्य हुँदै उनी गृहमन्त्री बनेका थिए । त्यसैले माओवादीको दबदबा रहेको समयमा मात्रै जित निकालेका र आफ्नो निश्चित निर्वाचन क्षेत्र नै नभएका ‘बादल’लाई पराजित गर्न पूर्व युवा तथा खेलकुद मन्त्रीसमेत रहेका केसीलाई सहज हुने अनुमान स्थानीयको छ ।
यस क्षेत्रको प्रदेश (क) बाट भने कांग्रेस नेता पुकार महर्जनले टिकट पाएका छन् । उनी यसअघि पनि प्रदेशसभा सदस्य थिए । चुनावी गठबन्धन अनुरुप प्रदेश (ख) भने एकीकृत समाजवादीले पाएको छ ।
Next Article

नेपालमाला
