काठमाडौं : आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा पूर्व फुटबल खेलाडी सुन्दर थापा पनि चुनावी मैदानमा उत्र्ने भएका छन् । लामो समय खेलकुद क्षेत्रमा सक्रिय थापाले प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ बाट स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् ।
यस क्षेत्रबाट निर्वाचित राजनीतिक दलका प्रतिनिधिले सोचे अनुरुप काम नगरेको र क्षेत्रलाई सदैव उपेक्षा गरेको भन्दै पूर्व फुटबलर थापाले स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् । ‘काठमाडौं क्षेत्र नम्बर ९ धेरै सम्भावना बोकेको क्षेत्र हो । तर, यहाँबाट निर्वाचित कसैले पनि यस क्षेत्रको महत्व बुझ्न सकेनन्’, थापाले भने, ‘राजनीतिक दलका प्रतिनिधिले यस क्षेत्रलाई आफू माथि जाने भ¥याङ मात्रै बनाए । यस क्षेत्रको विकासका लागि केही पनि काम नै गरेनन् ।’ थापाले आफू यही क्षेत्रको बासिन्दा भएकाले यहाँका सम्पूर्ण समस्याका बारेमा जानकार रहेको बताउँदै ती समस्या समाधानका लागि चुनावी मैदानमा उत्रिएको बताए ।
स्थानीय स्तरमा लोकप्रिय थापाको उम्मेदवारी घोषणाले राजनीतिक दलहरुमा भने नौ रेक्टरको भूकम्प गएको छ । स्थानीयस्तरमा भिजेका र स्थानीय जनताको सुखदुख बुझेका थापा चुनावी मैदानमा उत्रिएपछि आफ्नो अस्तित्व नै संकटमा पर्ने भयले उनीहरु थर्कमान बनेका हुन् । थापाले भने कसैको अस्तित्व मटियामेट गर्न भन्दा पनि आफ्नो क्षेत्रको विकासका लागि आफूले उम्मेदवारी दिन लागेको बताए । ‘मैले कुनै दल वा व्यक्तिलाई लक्षित गरेर उम्मेदवारी दिन लागेको होइन । लामो समयसम्म पनि राजनीतिक दलका प्रतिनिधिबाट यस क्षेत्रको विकास नभएपछि यस पटक उम्मेदवारी दिने घोषणा गरेको हुँ’, थापाले भने ।
सुन्दर थापाले लामो समय सक्रिय खेलाडीका रुपमा खेलकुदमा बिताए । सक्रिय खेल जीवन टुङ्ग्याएपछि पनि खेलकुद क्षेत्रको श्रीवृत्तिमै लागिरहे । क्लब खोलेर नयाँ नयाँ खेलाडी उत्पादन गर्नेदेखि नेपाली फुटबलको आरोह अवरोह र उपलब्धिलाई संरक्षण गर्न फुटबल संग्रहालय पनि स्थापना गरे । खेलकुदका साथै राजनीति, समाजसेवा हुँदै पछिल्लो समय थापा चलचित्र क्षेत्रमा पनि सक्रिय छन् । उनी यसअघि पनि राजनीतिमा सक्रिय भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा उनी दल नै गठन गरेर राजनीतिमा होमिएका थिए । उनको दलले प्रत्यक्षमा उम्मेदवारी नदिए पनि समानुपातिकमा भने उत्साहजनक मत पाएको थियो ।

नेपालमाला
