न्युयोर्क : टेनिसकी महान खेलाडी सेरेना विलियम्स यूएस ओपनको तेस्रो चरणमा हार्न पुगिन् । पराजयसँगै टुर्नामेन्टमा सेरेनाको यात्रा समाप्त भयो । भनिँदै छ, सेरेनाको करिअरमा पनि त्यो अन्तिम म्याच थियो । यद्यपि, सन्न्यासलाई लिएर उनले केही भनिसकेकी छैनन् । यो म्याचमा सेरेनालाई अस्ट्रेलियाकी एज्ला तोमल्यान्कोभिचले ७-५, ६-७, ६-१ को अन्तरले हराएकी हुन् ।
पहिलो सेट हारेपछि दोस्रो सेटमा सेरेनाले शानदार पुनरागमन गरेकी थिइन् । तर तेस्रो सेटमा एज्लाले सुरुदेखि नै दबाब बढाइन् र सजिलै सेट जितेर म्याच आफ्नो नाममा पारिन् ।
सेरेनाको यो अन्तिम म्याच थियो । तर, उनले प्रतियोगिताबाट बाहिरिँदाबाहिरिँदै फर्किन सक्ने संकेत गरेकी छन् । ‘हामी भविष्यबारे जान्दैनौँ । जे पनि हुन सक्छ तर अहिले म एक आमाको दायित्व पूरा गर्नमा ध्यान दिने छु । म अब आफ्नो जिन्दगी जिउन चाहन्छु ।’
अस्ट्रेलियन ओपनमा खेल्न आफूलाई खुब मन पर्ने पनि उनले बताइन् । उनको यो भनाइलाई आगामी वर्षको जनवरीमा हुने अस्ट्रेलियन ओपनसँग जोडेर हेरिएको छ । उनी त्यो टुर्नामेन्टमा खेल्दै गरेको अवस्थामा देखिन सक्छिन् ।
सेरेनाले आफ्नी बहिनी भिनस विलियम्सको तारिफ पनि गरिन् । भिनस नभएको भए आफूले कहिल्यै टेनिस खेल्न नपाउने सेरेनाले बताइन् । यी अमेरिकी दिग्गज खेलाडी सन् २०१५ मा जितेको फ्रेन्च ओपनलाई आफ्नो सबैभन्दा ठूलो उपाधि भएको बताउँछिन् । त्यो बेला सेरेना फाइनल खेल्नुअघि बिरामी थिइन् । उनी फाइनल नखेल्ने विषयमा सोचिरहेकी थिइन् । तर अन्त्यमा खेल्ने निर्णय गरिन् । नभन्दै लुसी साफारोभालाई ६-३, ६-७, ६-२ ले हराएर उपाधि आफ्नो नाममा ल्याएकी थिइन् ।

नेपालमाला
