क्यानेडियन भूमीमा नेपालीद्वारा स्थापित र संचालित नेपाली टेलिभिजन “माउण्ट एभरेष्ट टेलिभिजन, क्यानडा” ले टेलिभिजनको सफलता पश्चात् यहीँ आउँदो जुलाई १ अर्थात् “क्यानडा डे” को दिनदेखि “माउण्ट एभरेष्ट रेडियो” पनि सञ्चालनमा ल्याउने भएको छ।
“माउण्ट एभरेष्ट टेलिभिजन” को स्थापनाको तेस्रो बार्षिकोत्सबको अवसर पारेर आउँदो जुलाई फर्स्ट अर्थात् “क्यानडा डे” का दिन आयोजना गर्न लागेको कार्यक्रम “बिशेष सांगीतिक साँझ” का बीच माउण्ट एभरेष्ट रेडियो” को औपचारिक रुपमा समुद्घाटन गरिने भएको छ।
क्यानडामा नेपालीहरुको बाक्लो बसोबास रहेको शहर मिसिसागा स्थित पर्ल बैंकेट एण्ड कन्भेन्सन सेन्टरमा आयोजना हुन गइरहेको उक्त सांगीतिक साँझमा नेपालका बरिष्ठ लोक गायक पुरुषोत्तम न्यौपानेको बिशेष प्रस्तुति रहने छ भने क्यानाडाबाट गायिकाद्धय देबिका केसी र रिता बुर्लाकोटीले पनि सांगीतिक कोसेली प्रस्तुत गर्नेछन्। साथसाथै क्यानाडामा बसोबास गरिरहेका अन्य स्थानीय नेपाली कलाकारहरुले पनि नृत्य लगायतका सांस्कृतिक कोसेलीहरु प्रस्तुत गर्नेछ्न्।
टेलिभिजनले बिगत तीन बर्ष देखि क्यानाडाबाट बिश्वभरी छरिएर रहेको नेपालीहरुलाई समाचार, सुचना तथा मनोरञ्जनका साथै बिभिन्न गतिबिधिमूलक कार्यक्रमहरु प्रसारण गर्दै आइरहेको छ।
माउण्ट एभरेष्ट टेलिभिजनका प्रबन्ध निर्देशक बसन्त कार्कीका अनुसार टेलिभिजनले आउँदा दिनहरुमा श्रोता र दर्शकहरुको ईच्छा, रुचि, माग र सल्लाह सुझाव अनुसार समय सान्दर्भिक अन्य विविध बस्तुहरुलाई पनि समाबेश गर्दै जाने छ।

मदन बस्नेत
