काठमाडौं : एसीसी महिला टीट्वान्टी च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई जितका लागि ९५ रनको लक्ष्य दिएको छ ।मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो ।
नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन जोड्दा इन्दु बर्माले २० रन जोडे । रुबिना क्षेत्रीले २१ रन जोडे भने डोली भट्टले ५ रन बनाए ।सिता मगरले ४, ममता चौधरीले ३, बिन्दु रावलले १ तथा अश्मिना कर्माचार्य र ज्योति पाण्डे सुन्य रनमा आउट भए । कविता कुँवर १ रनमा अविजित रहिन् । भुटानकी सोनम पाल्डोनले ४ तथा अन्जु गुरुङ र टासी छेकीले एक एक विकेट लिए ।
नेपाल आज भुटानलाई हराउँदै च्याम्पियनसिपमा सुखद सुरुआत गर्न चाहन्छ । च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य लिएको नेपाललाई भुटान सहज प्रतिद्वन्दी समेत हो । भुटान पनि नेपाललाई हराएर सुखद सुरुआती गर्ने योजनामा रहेको छ ।
च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै समूह ‘ए’ मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन् । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ । च्याम्पियनसिप अन्तर्गत नेपालले दोस्रो खेलमा कुवेतसँग शनिबार खेल्नेछ । यस्तै नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।