काठमाडौं : नेपाल उसु महासंघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । उसु खेलप्रति खेलाडीको आकर्षण कसरी बढाउने, प्रशिक्षणलाई कसरी प्रभावकारी बढाउने र प्रशिक्षकहरुको मनोबल कसरी बढाउने भन्ने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा ३० जना प्रशिक्षकको सहभागिता रहेको नेपाल उसु महासंघका महासचिव लाक्पाछिरिङ लामाले जानकारी दिए ।
महासंघका अध्यक्ष वीरबहादुर तामाङले उद्घाटन गरेको अन्तरक्रिया कार्यक्रममा प्रशिक्षकहरुले नियमित प्रशिक्षणका लागि प्रशिक्षण स्थलको व्यवस्था गर्नुपर्ने, नियमित रुपमा प्रतियोगिता र ग्रेडिङ हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले महासंघको निर्देशन अनुसार काम गर्न तयार रहेको बताउँदै प्रशिक्षकहरुको कुरा सुन्न अन्तरक्रिया कार्यक्रम आयोजना गरेकोमा महासंघलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा महासचिव लामाले महासंघले गरेका विभिन्न कार्यक्रमका बारेमा जानकारी गराएका थिए । उनले कोरोना महामारीको प्रतिकुल समयमा महासंघले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताए । अन्तरक्रिया कार्यक्रममा महासंघका अध्यक्ष वीरबहादुर तामाङ, महासचिव लाक्पाछिरिङ लामा, कोषाध्यक्ष लानम लामा, सहकोषाध्यक्ष नारायण गिरी र सदस्य साम्देन शेर्पालगायतको उपस्थिति रहेको थियो ।

Next Article