काठमाडौं : सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।
अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ । गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो । तर सेवा प्रवाहमा समस्या देखिएको भन्दै सरकारको उक्त निर्णयको आलोचना भइरहेको थियो ।
दुई दिन विदा दिँदा प्रशासनिक अफ्ठ्याराहरु आएको र अस्पतालहरुमा समेत भीडभाड बढेको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो। नेपालमा दुई दिने विवाद कार्यान्वयनमा जटिलता आएपछि सरोकारवालहरुले आइतबारको विदा कटौति गर्न दबाब दिँदै आएका थिए। सोहीबमोजिम आइतबारको विदा हटाउने निर्णय भएको एक मन्त्रीले बताए।

नेपालमाला
