काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरूले सोमबार शपथ ग्रहण गर्ने भएका छन् ।
सोमबार बिहान ११ बजे काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिए । त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् ।
सूचना अधिकारी आचार्यका अनुसार मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु सबैको शपथ ग्रहण सोमबार राष्ट्रिय सभागृहमा हुनेछ । त्यसलगत्तै मेयर साह र उपमेयर डंगोलले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।
बालेन ६१ हजार ७ सय ६७ मत ल्याएर मेयरमा निर्वाचित बनेका हुन्। स्वतन्त्र उम्मेदवार उनले कांग्रेसकी सिर्जना श्रेष्ठ र एमालेका केशव स्थापितलाई धेरै मत अन्तरले पराजित गरे। निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार प्रतिस्पर्धी कांग्रेसकी सिर्जनाले ३८ हजार ३ सय ४१ र एमालेका केशवले ३८ हजार १ सय १७ मत ल्याए। मत गणनाको सुरुवातबाटै अघि बढेका बालेन कुनै वडाको गणनामा पनि पछि परेनन्।
उपमेयरमा एमालेबाट निर्वाचित बनेकी सुनिता डंगोलले ६८ हजार ६ सय १२ मत ल्याइन्। उनले प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको भन्दा दोब्बर बढी मत ल्याइन्। रामेश्वरले २३ हजार ८ सय ६ मत मात्रै प्राप्त गरे।
काठमाडौं महानगरपालिकाको ३२ वडामध्ये नेपाली कांग्रेसले सर्वाधिक १९ वटा वडा जितेको छ । यसैगरी नेकपा एमालेले १२ र नेकपा समाजवादीले एउटा वडा जितेको छ । त्यसैले काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको बहुमत छ ।